मस्जिदमा आक्रमण गरी ४९ जनाको हत्या गर्ने व्यक्तिले डोनल्ड ट्रम्पलाई आदर्श मान्ने गरेको खुलासा - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

मस्जिदमा आक्रमण गरी ४९ जनाको हत्या गर्ने व्यक्तिले डोनल्ड ट्रम्पलाई आदर्श मान्ने गरेको खुलासा



काठमाडौं – न्युजील्यान्डको क्राइस्टचर्चस्थित अल नूर मस्जिदमा शुक्रवार आक्रमण गरी ४९ जनाको हत्या गर्ने व्यक्ति ब्रेन्टन ट्यारेन्टले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई आदर्श मान्ने गरेको खुलेको छ ।

अस्ट्रेलियामा बसोबास गर्ने ट्यारेन्टले हत्याकाण्ड मच्चाउनुअघि एक मेनिफेस्टो लेखेर युरोपेली नागरिकमाथि भएका आतंकवादी आक्रमणमा मरेका गोराहरूको बदला लिएको बताएका थिए । अनि गोराहरूको वर्चस्व कायम गर्नका लागि आप्रवासीहरूलाई बाहिर निकाल्नुपर्ने उनको तर्क छ ।

बेलायती पत्रिका द सनका अनुसार, आक्रमणकारी ट्यारेन्टले आफ्नो मेनिफेस्टो द ग्रेट रिप्लेसमेन्टमा डोनल्ड ट्रम्पले नयाँ तरिकाले गोराहरूको पहिचान दिलाएको र उनी गोराहरूको साझा उद्देश्यको प्रतीकका रूपमा रहेको लेखेका छन् ।

नरसंहार गर्ने कारणका विषयमा उनले यस्तो लेखेका छन्, ‘हाम्रो भूमि कहिले पनि उनीहरूको भूमि हुनेछैन भनी हामीले आक्रमणकारीहरूलाई देखाउनुपर्नेछ । हाम्रो भूमिलाई एकजना गोरा मानिस बाँचुन्जेलसम्म उनीहरूले कब्जा गर्न सक्दैनन् । न्युजील्यान्डमा गरिएको कामलाई आतंकवादी आक्रमण भनी परिभाषित गरिएला तर नियन्त्रण गर्न खोज्ने शक्तिहरूविरुद्धको कारवाही हो यो ।’

आक्रमणकारीको मेनिफेस्टोअनुसार, युरोपेली मानिसको संख्या प्रत्येक दिन घट्नुका साथै उनीहरू बूढा र कमजोर भइरहेका छन् । उनीहरूले कम्तीमा दुई सन्तान नजन्माए समूल नाश निश्चित छ । बाहिरबाट आएका मानिसले निकै सन्तान जन्माइरहेकाले एक दिन उनीहरूले गोराको भूमि खोस्नेछन् ।

एजेन्सी