स्वराजले दिईन इमरान खानलाई कडा जवाफ - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

स्वराजले दिईन इमरान खानलाई कडा जवाफ



भारतीय विदेशमन्त्री सुषमा स्वराजले पाकिस्तानले आफ्नो जमिनबाट संचालित चरमपन्थी अड्डालाई कारवाही नगरेसम्म कुनै छलफल हुन नसक्ने बताएकी छिन् । उनले चरमपन्थ र छलफल एकैपटक हुन नसक्ने कुरामा जोड दिइन् । उनले पाकिस्तानका प्रधानमन्त्री इमरान खान त्यति नै उदार छन् भने मसूद अजहर आफूलाई सुम्पिन चुनौती दिएकी छिन् ।

बुधबार ‘इन्डियाज वर्ल्डः मोदी गभर्नमेन्ट्स फरन पोलिसी’ माथि छलफलमा उनले पटकपटक द्वीपक्षीय सम्बन्धलाई बर्बाद पार्न खोजिरहने पाकिस्तानले आइएसआई र आफ्नो सेनामाथि नियन्त्रण गर्नुपर्ने विचार व्यक्त गरिन् ।

समाचार एजेन्सी पिटिआईका अनुसार उनले भनिन्, ‘हामी आतंकवादमाथि कुरा गर्न चाहन्नौं, हामी त्यसमाथि कारवाही चाहन्छौं । आतंक र कुराकानी एकैपटक हुनै सक्दैनन् ।’

स्वराजसँग भारतद्वारा बालाकोटमा गरिएको भारतीय हवाई कारवाहीपछि पाकिस्तानको जवाफबारे पनि प्रश्न सोधियो । यसबारे उनले भनिन्, ‘भारतले विशेषगरी आतंककारी संगठन जैश–ए–मोहम्मदको इलाकालाई निशाना बनायो । ’

उनले थपिन्, ‘जैशको तर्फबाट पाकिस्तानी सेनाले हामीमाथि हमला किन गरे ? तपाईंहरुले जैशलाई आफ्नो जमिनमा पालिराख्नु भएको छ, पैसा पनि दिइराख्नुभएको छ र जब पीडित देश प्रतिरोध गर्छ तब आतंककारी संगठनको तर्फबाट हमला गर्छौ ।’

उनले थपिन्, ‘यदि इमरान खान यति उदार छन् भने उनले हामीलाई मसूद अजहर सुम्पिनुपर्छ ।’ सुषमाले पाकिस्तानले आफ्नो जमिनमा आतंककारी समूहविरुद्ध कारवाही गर्छ भने पाकिस्तानसँग राम्रो सम्बन्ध हुनसक्ने बताइन् ।