विप्लवलाई नेकपा सांसदकै साथ - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

विप्लवलाई नेकपा सांसदकै साथ



सत्तारुढ दलका सांसदले सरकारसँगको सहमति कार्यान्वयन गर्नुको सट्टा स्वतन्त्र मधेश गठबन्धनका तर्फबाट कानून विपरीतका गतिविधि जारी राखे सीके राउतलाई फेरि गिरफ्तार गर्न माग गरेका छन् ।

राष्ट्रिय सभाको बुधवारको बैठकको विशेष समयमा नेकपा सांसद बलराम बास्कोटाले सरकारसँग भएको सहमतिको मसी सुक्न नपाउँदै सीके राउत समूहबाट ताण्डव भइरहेको बताएका हुन् ।

‘सीके राउतले सम्झौतालाई तिकडम गरे भने उनलाई फेरि गिरफ्तार गरेर सरकार अगाडि बढ्नुपर्छ । शान्ति सुरक्षा र अमनचयन कायम गर्न सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउँछु,’ बास्कोटाले भने ।

विशेष समयमै नेपाली कांग्रेसका बद्री पाण्डेले सीके राउतको स्वतन्त्र गठबन्धनलाई सरकारले वैधानिकता दिएको आरोप लगाए । ‘सहमतिको मसी सुक्न नपाउँदै जनकपुरको र्यालीमा ‘फ्री मधेश’ नारा लगाइएको छ । र सीके राउतले जनमत संग्रह मात्र भनेपछि मौन बस्नुले आशंका बढाएको छ,’ पाण्डेले भने ।

सांसद बास्कोटाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने निर्णय अपरिपक्क भएको बताए ।

‘वामपन्थी समूहभित्रको उग्रवामपन्थी धारलाई राजनीतिक उपचार गर्नुपर्दछ । त्यो रोगको शिकार हिजो झापा आन्दोलनको समयमा भएको थिए, अरु साथीहरू पनि भएका थियौं,’ उनले भने, ‘विप्लव समूहलाई प्रतिबन्ध लगाउँदा सरकारको परिपक्वता भएन कि ?’