सभामुखले किन बोलाए आकस्मिक बैठक ?
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराबीच छलफल हुने भएको छ ।
राजपा नेपालले आज बस्ने प्रतिनिधिसभा बैठक बष्हिकार गर्ने निर्णय गरेपछि सभामुख महराले राजपा नेपालका नेताहरुलाई छलफलका लागि बोलाएका हुन् ।
मधेश तथा थरुहट आन्दोलनको बारेमा छानविन गर्न सर्वोच्च अदालतका पूर्व न्यायधीश गिरीशचन्द्र लालको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन भएको थियो ।
सो आयोगले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो तर सरकारले सो प्रतिवेदन सार्वजनिक नगरेपछि राजपा नेपालका नेताहरुले प्रतिनिधिसभामा कुरा उठाएका छन् ।
प्रतिनिधिसभाका बैठकमा राजपा नेपालका नेताहरुले लगातार कुरा उठाएपछि सभामुख महराले फागुन २६ गते सो प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई रुलिङ गरेका थिए ।
तर सरकारले हालसम्म सो प्रतिवेदन सार्वजनिक नगरेपछि राजपा नेपालले आज बस्ने प्रनिधिसभाको बैठक बहिष्कार गर्ने निर्णय गरेको छ ।