अब सरकारबिरुद्ध युद्ध हुन्छ : विप्लव समूह - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

अब सरकारबिरुद्ध युद्ध हुन्छ : विप्लव समूह



काठमाडौँ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले युद्ध घोषणा गरेकोले अब त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ । मंगलबार सरकारले विप्लव नेतृत्वको नेकपालाई आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

सो निर्णयलाई आफूहरुले युद्धको घोषणाका रुपमा लिएको र अब सशक्त प्रतिवाद गर्ने पार्टीका पोलिटव्यूरो सदस्य ओमप्रकाश पुनले चेतावनी दिए । उनले भने, ‘ओली सरकारको निर्णयलाई जनस्तरबाट पूर्ण रुपमा खारेज गर्ने अभियान मंगलबार रातिदेखि नै सुरु भैसकेको छ ।’

उनले सत्ताको मातमा क्रान्तिलाई रोक्न खोज्ने ओली सरकार असफल भइसकेको बताए ।

‘युद्धको घोषणा बिद्रोहमा रहेको शक्तिले गर्ने हो, तर नेपालमा क्रान्तिलाई दमन गर्न सामन्तहरुले सत्ताबाटै युद्धको घोषणा गरे, हामी शसक्त प्रतिवाद गछौँँ, युद्ध घोषणा गर्ने सरकार असफल भैसक्यो’, पुनले भने ।

‘सरकारले हामीलाई जहाँ भेट्यो त्यहिँ सिध्याउनु भनेर आदेश दिएको छ’, पुनले भने, ‘बिखण्डनकारी सीके राउतलाई अंगालो हाल्ने अनि हामीलाई दमन गर्ने ? सरकारले यसको जवाफ छिट्टै पाउँछ ।’

पुनले आफ्नो पार्टीलाई वार्तामा बोलाएको तर आउन नचाहेको भनेर सरकारले दुष्प्रचार गरिरहेको बताए ।

‘हामीलाई वार्तामा बोलाइएको छैन, नाटक मञ्चन गरिएको हो, पार्टीलाई वार्ताका लागि कुनै चिठ्ठी प्राप्त भएको छैन’, पुनले भने, ‘सरकारले औपचारिक वार्तामा बोलाओस्, राजनीतिक संवाद गर्ने कुराबाट भाग्ने काम हुँदैन, हामी तयार छौँ, हाम्रो पार्टी वार्ता विरोधी होइन ।’