विप्लवको चन्दा आतंक:धम्की दिएपछि वडाध्यक्षले राजिनामा दिएको खुलासा - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

विप्लवको चन्दा आतंक:धम्की दिएपछि वडाध्यक्षले राजिनामा दिएको खुलासा



दैलेख । दैलेखमा विप्लव माओवादी समूहले स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडाध्यक्षसम्मलाई पदबाट राजीनामा दिन पत्राचारसँगै चन्दा मागेर धम्की दिएको खुलेको छ ।

पत्र मात्र नभई फोनबाट समेत चन्दाको बारेमा कुराकानी गर्ने गरेपछि सुरक्षा चुनौती बढ्न सक्ने भन्दै दैलेखका स्थानीय सरकार प्रमुखहरुले कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशविक्रम शाहलाई सुरक्षा चुनौती देखिएका संवेदनशील स्थानमा सुरक्षाबल बढाउन र सुरक्षा निकाय सचेत हुन आग्रह गर्नुभयो ।

यस्ता फोन र धम्की अहिले दैलेखका ११ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षसम्मलाई आएको दैलेखका स्थानीय सरकार प्रमुखहरुले बताउनुभयो । दैलेखका स्थानीय सरकारका प्रमुखहरुलाई ढुक्क भएर बस्न आग्रह गर्दै प्रदेश प्रहरी प्रमुख शाहले भन्नुभयो, ‘तपाईहरु जनताबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ, ढुक्क भएर बस्नुहोस्, अराजक गतिविधि गर्ने जोकोहीलाई प्रहरीले विशेष ढङ्गले खोजी गरिरहेको छ ।’

मुलुक समृद्धितर्फ अगाडि बढ्ने महान् अभियानलाई कसैले पनि अवरोध गर्न नहुने र संविधानविपरीत कार्य गर्ने सबैलाई कारवाही गर्न सरकार तयार रहेको बताउनुभयो । विप्लवका गतिविधिलाई सबै मिलेर निस्तेज पार्न सकिने उहाँको भनाइ थियो । संविधानमा लेखिएका कुराविरुद्ध अहिले विप्लव समूह अगाडि बढेको भन्दै उहाँले बम विस्फोट, व्यक्ति हत्याजस्ता गतिविधिमा विप्लव समूह सक्रिय रहेको उल्लेख गर्नुभयो ।

उहाँले संविधानले निषेध गरेका कुरा गर्ने राजनीतिक समूह नभएर अपाराधिक समूह भएको भन्दै प्रहरीले यस्ता गतिविधिको नियन्त्रण गर्ने र यस्ता गतिविधिमा संलग्नलाई पक्राउ गरी कारवाही प्रक्रियाका लागि कडा कदम चाल्ने बताउनुभयो ।