फागुन ३० गते नेपाल बन्दको यस्तो छ वास्तविकता - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

फागुन ३० गते नेपाल बन्दको यस्तो छ वास्तविकता



काठमाडौँ – सरकारले बल प्रयोग गरेर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधि रोक्ने चेतावनी दिएपछि पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विल्पव’ थप आक्रोशित बनेका छन् ।

केही समय यता विप्लवको आधार इलाका मानिएका क्षेत्रमा प्रहरीले छापा मारिरहेको र प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तेजक अभिव्यक्ति दिइरहेको भन्दै चन्द आक्रोशित बनेका हुन् ।

पछिल्लो पटक कपिलबस्तु स्थित विप्लवको घरलाई लक्षित गर्दै प्रहरीले छापा हानेर अत्याधुनिक हतियार र गोली गठ्ठा बरामद गरेको थियो । सो क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका थिए ।

त्यसलगत्तै (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव र उनको पार्टीका विरुद्ध आक्रामक अभिव्यक्ति दिएका थिए । सिके राउतसँगको राजनीतिक सहमति घोषणा समारोहमा प्रधानमन्त्री ओलीले विप्लवलाई आफ्नो पार्टीको नाम लुटेरा समूह राख्न सुझाव दिएका थिए ।

‘लुट्नकै लागि बिस्फोट गराउने र जनतालाई आतंकित पार्ने अभियान चलाउनेहरुले कम्युनिष्ट नाम राख्नु भएन, बेइज्जत भइसक्यो, यता आफूले पनि नेकपा नै भन्नु पर्‍या छ, त्यस्ता ले पनि नेकपा भनिरहेका छन्, त्यसैले पार्टी होइन विप्लव समूहले आफ्नो नाम लुटेरा समूह राख्नु पर्‍यो, अरु पनि लुटेरा समूह छन् भने ‘लुटेरा समूह विप्लव’ राख्नु पर्‍यो, अथवा ‘प्रकाण्ड लुटेरा समूह’ राखे पनि हुन्छ’ प्रधानमन्त्री ओलीले आक्रोशित हुँदै भनेका थिए ।

उनले मुलुकको शान्ति सुरक्षाको जिम्मा सरकारको रहेको बताउँदै जुनसुकै समूहका अराजक गतिविधि नियन्त्रण र निस्तेज पार्न सरकारले आफ्नो काम गर्ने चेतावनी दिएका थिए ।

प्रधानमन्त्रीले यस्तो चेतावनी दिएकै दिन विप्लवले विज्ञप्ति जारी गरेर सरकारका विरुद्ध नेपाल बन्दको घोषणा गरेका हुन् । ‘सरकारको रक्तपिपाशु र दमनपूर्ण व्यवहारको घोर निन्दा गर्दै आगामी फागुन ३० गते नेपाल बन्दको घोषणा गरेका छौँ’ विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।