सीके राउतले जेलको कुरा गर्दा ओली मुसुमुसु हाँसे
स्वतन्त्र तराई मधेस गठबन्धनका संयोजक चन्द्रकान्त (सीके राउत) ले आफूहरु बुद्धको सन्तान भएको कारण अहिँसा चाहने बताएका छन् ।
शुक्रबार सरकारसँग गरेको ११ बुँदे राजनीतिक सहमतिपछि आयोजित कार्यक्रममा बोल्दै संयोजक राउतले आफूहरुको स्वतन्त्र मधेस अभियानजपनि शान्तिपूर्ण आन्दोलनको एक रुप भएको बताए ।
‘हामी बुद्धका सन्तान हौँ, अहिंसा हाम्रो शरीरभित्र अन्तनिहिर भएर, रौँ रौँमा बसेको छ’, उनले भने ।
‘यो जनताको जित हो, हामी जनताको मन जित्ने गरी अगाडि बढ्न यो सहमति गरेका हौँ’ राउतले भने, ‘किनभने जनताले चाहे भने सबै कुराको परिवर्तन सम्भव छ ।’
प्रधानमन्त्री ओली आफै १४ वर्ष जेल बसेर आएको व्यक्ति भएको भन्दै उनले प्रधानमन्त्रीका अगाडि जेलको कुरा गर्नु सूर्यलाई दियो देखाउनु बराबर भएको बताए ।
उनले जेलको हालको अवस्था र गुणस्तरको प्रसङ्ग निकाल्दा भने प्रधानमन्त्री ओली मुसुमुसु हाँसे ।
उनले जेलको अवस्था सुधार गर्नुपर्ने रहेको बताए । जेल जीर्ण र आवश्यकताभन्दा बढी कैदी बन्दी भएको भन्दै त्यसमा सुधार गर्नुपर्ने बताए ।
उनले आज भएको राजनीतिक सहमतिलाई सकरात्मक रुपमा दिएर अगाडि बढ्न सबैलाई अनुरोध समेत गरे ।