हेलिकप्टर दुर्घटनामा गम्भीर आशंका छ : योगेश भट्टराई - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

हेलिकप्टर दुर्घटनामा गम्भीर आशंका छ : योगेश भट्टराई



ताप्लेजुङ : प्रतनिधिसभा सदस्य योगेश भट्टराईले पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनाले विभिन्न आशंका उब्जाएको बताएका छन् ।

ताप्लेजुङमा विहीबार आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै भट्टराईले यस्तो बताएका हुन् । ‘विगतमा पनि हेलिकप्टर दुर्घटना भएर ठूलो क्षति ब्यहोर्नुपरेको थियो । यस पटक पनि मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनाले धेरै आशंका उब्जाएका छन्,’ उनले भने, ‘यसअघि कहिल्यै पाथीभरामा सातजना एउटै हेलिकप्टरमा लगिएको थिएन ।’

नेकपाका नेतासमेत रहेका योगेशले यसअघि सुकेटार वा फुङ्लिङको आर्मीे ब्यारेकमा राखेर केही यात्रु ओरालेपछि मात्रै लाने चलन रहेका स्मरण गराए । ‘तर यस पटक किन त्यसरी लगियो ?,’ उनले प्रश्न गरे ।

सरकारले छानबिन समिति गठन गरिसकेकाले सत्यतथ्य बाहिर आउनेमा आफू विश्वस्त रहेको भट्टराईले बताए । हिमाली क्षेत्रको भूगोल विकट र मौसम पनि अनिश्चयको हुने हुँदा उक्त क्षेत्रको हवाई उडानमा विषेश ध्यान दिनुपर्नेमा सांसद भट्टराईको जोड थियो ।

दुर्घटनाको जोखिम पहाड–तराई सबैतिर हुने भन्दै उनले सावधानी अपनाए क्षति न्यूनीकरण गर्न सकिने बताए । पाथीभरा सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न उच्च पदस्थ अन्तर्राष्ट्रिय व्यक्तिलाई भ्रमण गराउने प्रयास भइरहेको समेत भट्टराईको भनाइ थियो ।

‘पर्यटन व्यवसाय ताप्लेजुङको समृद्धिको आधारस्तम्भ हो,’ उनले भने, ‘त्यसैले यो जिल्ला सुरक्षित रहेको सन्देश दिन भारतको पश्चिम बङ्गाल र सिक्किमका मुख्यमन्त्रीलाई छिट्टै ल्याउने प्रयास गरिरहेका छौं ।’

ताप्लेजुङको घुन्सामा २०६३ सालमा पनि हेलिकप्टर दुर्घटना हुँदा तत्कालिन वन राज्यमन्त्री गोपाल राई र भूगोलविद हर्क गुरुङसहित २४ जनाको मृत्यु भएको थियो । दुवै दुर्घटनामा निधन भएकाको स्मृतिमा फुङ्लिङमा स्मृति पार्क बनाउने समेत सांसद भट्टराईले घोषणा गरे ।

श्रद्धाञ्जलीसभामा बोल्दै उनले पछिल्लो पुस्ताबाट सम्भावना बोकेका यो सरकारका गतिशील मन्त्री रवीन्द्र अधिकारीलाई सम्झिए । दुर्घटनाको अघिल्लो दिन पनि सुकेटार विमानस्थलको स्तरोन्नतिका विषयमा अधिकारीसँग भट्टराईले कुरा गरेका थिए ।

कार्यक्रममा नेकपाका नेताहरुले मन्त्री अधिकारीको व्यक्तित्व, क्षमता र योगदानबारे चर्चा गरे । नेकपाका प्रदेश नं १ का अध्यक्ष देवराज घिमिरेले रवीन्द्र अधिकारी जस्तोसुकै जिम्मेवारीलाई कुशलतापूर्वक निभाउन सक्ने नेताकारुपमा सम्झना गरे । नेकपाले मन्त्री अधिकारी र पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको सम्झनामा श्रद्धाञ्जलीसभा गरेको हो ।