फोरमको पनि सरकार छोड्ने सङ्केत, दुईतिहाई सङ्कटमा
रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि राजपाले सरकारको साथ् छाडिसकेको छ । मधेशवादी अर्को दल संघीय समाजवादी फोरममा पनि भित्र भित्रै सरकार छाड्ने कि भन्ने छलफलमा जुटेको छ । टीकापुर घटनालाई अपराधिक ठहर गर्दै अभियुक्तलाई जन्मकैदको फैसला भएपछि फोरमभित्र हलचल मच्चिएको हो।
पछिल्लो मधेस आन्दोलनलाई नेतृत्व गरेको फोरमले टीकापुरकाण्डलाई राजनीतिक घटना मान्दै आएको छ। तर, फोरमले पछिल्लो समय रेशमको विषयमा आधिकारिक धारणा व्यक्त भने गर्न सकेको छैन।
‘हामी यतिबेला आन्तरिक छलफल गरिरहेका छौं, छलफल टुंगोमा लागेपछि पार्टीले आफ्नो आधिकारिक धारणा बाहिर ल्याउँछौ’, फोरमका एक नेताले बताए, राजनीतिक घटनालाई राज्यले कसरी हेर्ने भन्ने फरक पाटो छ । उनले भने
संविधान संशोधनसहितको दुईबुँदे सहमतिमा नेकपासँग सत्तासाझेदार फोरमले पछिल्लो समय नैतिक संकट आएको महसुस गर्न थालेको हो।
यस अघि फोरमले टीकापुर घटनालगाएतका समस्यालाई राजनीतिक तरवरले सुल्झाउनुपर्ने धारणा राख्दै आएको थियो।
मधेशवादी एउटा दलले सरकार छाडेर आन्दोलनको तयारी गर्दै गर्दा फोरमलाई आफ्नो हातबाट मधेश छुट्ने हो कि भन्ने सन्त्रास पनि जिवितै छ ।
प्रदेश-२ मा फोरमको सत्ता साझेदार राष्ट्रिय जनता पार्टी (राजपा)ले बुधबार नै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि फोरमभित्र झनै उकुसमुकुस बढेको नेताहरू बताउँछन्।