सत्तामा व्यक्ति मात्रै फेरिए, जनताले के पाए : कमल थापा - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

सत्तामा व्यक्ति मात्रै फेरिए, जनताले के पाए : कमल थापा



बुटवल–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले परिवर्तनको नाममा हिन्दू राष्ट्रको पहिचान समाप्त पारेको आरोप लगाएका छन्।

बुधवार पार्टीको मेचीमहाकाली राष्ट्रिय स्वाभिमान यात्राको सभालाई रुपन्देहीको भैरहवामा सम्बोधन गर्दै उनले नयाँ नेपाल बनाउने नाममा हिन्दू राष्ट्रको पहिचान समाप्त पारेर धर्मनिरपेक्षता थोपरिएको बताए।

‘हिन्दू राष्ट्रको पहिचानको समाप्ति र राजसंस्थालाई पाखा लगाइएपनि जनताले परिवर्तनको अनुभुति गर्न पाएका छैनन्, उनले प्रश्न गरे–०६२÷०६३ को जनआन्दोलनपछि आखिर जनताले के पाए ? सत्तामा व्यक्तिमात्रै त फेरिए, अरु सबै कुरा उस्तै त छ।’

उनले देश संकटको दलदलमा भाँसिदै गएको दाबी गर्दै मुलुकमा गरिब र धनी बीचको खाडल बढ्दै गएको बताए।

उनले शान्ति प्रक्रिया टुंगिएको भनिएपनि विप्लव माओवादीलाई इंगित गर्दै नयाँ माओवादी नयाँ ढंगले सतहमा देखिएको बताए।
उनले सिके राउत समूहलाई समयमै व्यवस्थापन गर्न नसके राष्ट्रिय सुरक्षामा समस्या उत्पन्न हुने बताए।

उनले १२ वर्षसम्म गलत राजनीतिको अभ्यासका कारण देश टुक्राउने समूह सतहमा आएको बताए।‘देश टुक्रयाउनु पर्छ भन्ने आवाज उठेको थिएन तर ०६२÷०६३ को जनआन्दोलन पछिको गलत राजनीतिको अभ्यासका कारण अहिले त्यो विखण्डनकारी समूह सतहमा आएको छ, उनले भने– यो समूहलाई समयमै हेरिएन भने देशको सुरक्षामा ठूलो खतरा बन्‍न सक्छ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले केही कर्मचारी, व्यापारी र ठूला नेता मिलेर ब्रम्हलुट गरेको आरोप लगाए। एनसेलको कर छली काण्ड, ३८ क्वीन्टल सुन तस्करी, वाइडवडी हवाइजहाज खरिद प्रकरणमा घोटला जस्ता कारणले देशमा लुटतन्त्र चलेको प्रष्ट भएको उनले बताए।

मधेसी समुदायमा राष्ट्रप्रतिको भाव बढी रहेको भन्दै सीमानामा बसेर देशको रक्षा गर्ने मधेसी समुदाय विना बर्दीका सच्चा सेना भएको उल्लेख गरे।
राप्रपाका वरिष्ठ नेता दिपक बोहराले सभालाई सम्बोधन गर्दै हिन्दु राज्य कायम सहित आफुहरुको माग पूरा नभए आगामी चैत देखि आन्दोलन गर्ने चेतावानी दिए।

‘सरकारले हामीहरुको माग पुरा गरेमा ठीक छ-उनले भने-नभए सडक आन्दोलनले हिन्दु राष्ट्रसहितको राजसंस्था पुर्नस्थापना गराउछौँ।’