नयाँ शक्तिका नेता सहित २ सय जना नेकपामा प्रवेश - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

नयाँ शक्तिका नेता सहित २ सय जना नेकपामा प्रवेश



माेरङ – नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश नम्बर १ का संयोजक देवराज भण्डरीसहित २०८ जना नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

मोरङको पथरी शनिश्चरेमा नेकपाले आज आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले नवप्रवेशीहरुलाई स्वागत गर्दै एकता र सहकार्यले मात्र देश समृद्ध हुने बताए ।

मन्त्री ढकालले नयाँ शक्तिका संयाेजक डाक्टर बाबुराम भट्टराईको पनि अन्ततः आउने ठाउँ पुरानै घरका रुपमा रहेको नेकपा नै भएको जिकिर गरे। उनले सुकुम्वासी सहितका बसोबासको समाधान गर्न सरकारले निर्माण गरेको कानुन अन्तिम चरणमा पुगेको जनाउँदै पथरीशनिश्चरेमा निर्माण हुने प्रदेशकै गौरवको आदिवासी जनजातिसहितको बहुजातीय सांस्कृतिक सङ्ग्रहालयको प्रक्रिया अघि बढेको जानकारी गराए  ।

नवप्रवेशी भण्डारीले एकीकृत रुपमा देशको समृद्धिको अभियानमा आफूहरु एकाकार भएको धारणा राखे । नयाँ शक्तिका केन्द्रीय परिषद् सदस्य एवम् युवाका केन्द्रीय सचिव बाबुराम न्यौपाने, प्रदेश सदस्य एवम् पूर्व जनमुक्ति सेनाका मोरङ संयोजक जितबहादुर रसाइली, राज्य कमिटी सचिवालय सदस्य वासु बराल, प्रदेश सदस्य एवम् ३ नम्बर क्षेत्रीय संयोजक पर्शुराम मिश्रसहित पार्टीमा प्रवेश गरेका थिए ।