वामदेवले भने : ओलीलाई मैले ठाउँमा ल्याउँछु - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

वामदेवले भने : ओलीलाई मैले ठाउँमा ल्याउँछु



काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई आफूले आलोचना गरेरै सही ठाउँमा ल्याउने बताएका छन् ।

हेलिकप्टर दुर्घटनामा निधन भएका मन्त्री रविन्द्र अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न नेकपा निकट विद्यार्थी संगठनले बुधवार त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेता गौतमले कतिपयले आफ्नो आलोचना पचाउन नसकेपनि आफूले आलोचना गरेरै सही ठाउँमा ल्याउने बताएका हुन् ।

‘पुष्पलालबाहेक हरेक महासचिव र अध्यक्षसँग मेरो टकराव भएको छ । सीपी मैनाली महासचिव भएको बेलामा उहाँसित लडाईं गरेँ । त्यसपछि झलनाथ आउनुभयो, उहाँको कमी कमजोरीको कमिटीमा खुलेर बहस छलफल गरे । त्यसपछि मदन भण्डारी आएपछि पनि मेरो त्यही थियो शैली । त्यसपछिका अध्यक्षसँग पनि त्यही भएको छ,’ गौतमले भने, कतिले त्यसलाई पचाउन सक्दा रहेछन्, कतिले त्यसलाई पचाउन नसकेर मलाई बदनाम गर्‍यो, यसो उसो भन्छन् । म त्यससित डराउँदिन आलोचना गरिरहन्छु ।’

कुनैपनि व्यक्तिको बारेमा क्रिटिकल एप्रोचमा मूल्यांकन हुनुपर्ने र उसको आलोचना मुखैअगाडि गर्ने आफ्नो सिद्धान्त रहेको उनले बताए ।

‘मैले कमरेड केपी ओलीलाई संसदीय दलको नेता बनाउन प्रमुख भूमिका खेलेँ । पार्टी अध्यक्ष बनाउन भूमिका खेलेँ । दुई पटक प्रधानमन्त्री बनाउन जुन वातावरण बन्यो, त्यसमा मेरो एक नम्बरमा नाम छ । मैले त्यसो गरेको छु, तर केपी ओलीसँग संघर्ष गर्ने व्यक्ति म मात्र छु, अरूले गर्दैनन् । मलाई विश्वास छ, मैले आलोचना गरेर मात्र उहाँलाई सही ठाउँमा ल्याउन सक्छु,’ गौतमले भने ।

नेता गौतमले कम्युनिस्ट पार्टीका नेताहरूको प्रसंशा गर्नु आवश्यक नरहेको बताए । ‘कम्युनिस्ट पार्टीका नेताको प्रसंशा गर्न आवश्यक छैन । उनीहरूले गर्ने कीर्तिमा प्रसंशा अन्तरनिहीत हुन्छ । बोलेर भन्न पर्दैन । आलोचनात्मक किसिमले हेर्नुहोस्, जे हो त्यही बोल्नु पर्छ, संघर्ष गर्नुपर्छ,’ गौतमले भने ।

‘सरकारको कुरा सुनेर गद्गद् छु’

नेता गौतमले प्रधानमन्त्री र मन्त्रीका कुरा सुनेर आफू गद्गद् भएको बताए ।

‘मेरा पनि कतिपय असन्तुष्टि थिए, एउटा मिडियाले सोध्यो– तपाईं सन्तुष्ट हुनुहुन्छ ? मैले छैन भनेँ । तर अहिले सन्तुष्ट हुन लागेको छु । प्रधानमन्त्री र सरकारका अर्थमन्त्रीले आज नगरेपनि अब गर्न लागेका छौँ भन्नुभएको छ । अब गर्नका लागि चार वर्ष छ । घोषणा पत्रमा भएका सबै काम गर्छु भनेपछि म गद्गद् भएको छु, कुरा सुनेर,’ गौतमले भने, ‘तर गर्नुहुन्छ कि गर्नुहुन्न, म हेर्छु । आगामी बजेट हेर्छु । त्यसपछि म अगाडि जान्छु । फेरि पनि त्यस्तै भयो भने मेरो कर्तव्य हुन्छ मैले रोक्नैपर्छ, हस्तक्षेप गर्नैपर्छ, त्यतिबेला । नेपाली जनताले चाहेको व्यवस्था, नेपाली जनताले चाहेको समृद्धि कायम गर्नुपर्छ । त्यो (समृद्धि) आँखाले देख्ने गरी आउनुपर्छ । हामीले घोषणापत्र जनताको मत ल्याउनका लागि मात्र, झुक्याउनका लागि मात्र बनाएको होइन । हाम्रो प्रतिबद्धता, हाम्रो संकल्पलाई जनताले समर्थन गरेको छ । दुईतिहाइ सिट प्राप्त हुनेगरी जनताले त्यसलाई अनुमोदन गरेका छन् । त्यो घोषणापत्रलाई पूरा गर्ने हाम्रो जिम्मेवारी हो । त्यसलाई पूरा गर्छौं ।’

कार्यक्रममा नेता गौतमले रविन्द्र अधिकारीको कार्यशैलीको प्रसंशा गर्दै उनलाई आफ्नो दिलभित्र बाचइराखेको बताए ।