प्रधानमन्त्री ओलीलाई के भयो ?
प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालको सीसीयुमा भर्ना भएका छन् ।
नियमित मेडिकल जाँचका लागि बुधबार बिहान १०ः१५ बजे अस्पताल पुगेका उनको रगत, इसिजी, एक्सरेसहितका जाँचपछि कार्डियाक केयर युनिट (सीसीयु) भर्ना गरिएको हो । उनको शिक्षण अस्पतालस्थित मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ ।
प्रधानमन्त्री ओलीलाई नियमित स्वास्थ्य जाँचका लागि अस्पताल भर्ना गरिएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
ओली यो वर्षको नियमित चेकअपका लागि थाइल्यान्ड जानुपर्ने तालिका थियो । व्यस्थताले सम्भव नभएपछि त्रिवि शिक्षण अस्पतालमै भर्ना गरिएको उनकी निजी चिकित्सक डाक्टर दिव्या सिंहले जानकारी दिइन् । नयाँ दिल्लीमा मृगौला प्रत्यारोपण गरे पनि पछिल्लो समय उनी थाइल्यान्डमा उपचार गराउँदै आएका छन् ।
अस्पतालका चिकित्सक उत्तम कृष्ण श्रेष्ठले बुधबार दिउँसो १ः१५ बजे जारी गरेको विज्ञप्तिअनुसार ओलीको थप परीक्षण गर्नु उपयुक्त देखिएकोले अब्जरभेसनमा राखिएको हो । डाक्टर अरुण सायमी संयोजकत्वको चिकित्सक टोलीले उनको उपचार गरिरहेको र पछिल्लो अवस्था सामान्य रहेको विज्ञप्तिमा उल्लेख छ । बुधबार जाँच गरिएका रगत, इसिजीसहित अन्य परीक्षणको रिपोर्ट आउन कम्तिमा २४ घन्टा लाग्नेछ । त्यतिन्जेलस्म उनी अस्पतालमै रहनेछन् ।
६७ वर्षीय प्रधानमन्त्री ओलीका दुवै मृगौला प्रत्यारोपण गरिएका हुन् ।
उनी मृगौला तथा फञ्गल म्यानेजाइटिसका औषधि नियमित सेवन गर्छन् । यसअघि गत कार्तिकमा पनि श्वाशप्रश्वासमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गरिएको थियो ।