प्रचण्डले गरे विप्लवबारे गम्भीर खुलासा
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको माओवादीले सबै हतियार शिविर (क्यान्टोन्मेन्ट) मा राखिएकाले त्यसबाहिरका हतियारको जिम्मा आफूहरूले नलिने बताएका छन्।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका कार्यकर्ताबाट तत्कालीन माओवादीले नेपाली सेनाका ब्यारेकबाट लुटेका हतियार बरामद् हुन थालेपछि प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन्।
‘जति हतियार थिए ती क्यान्टोनमेन्टमा थिए। ती सबैको हामीले व्यवस्थापन गरेका हौं,’ प्रचण्डले सोमबार पत्रकार सम्मेलनमा भने, ‘बुझाएको भन्ने शब्द हाम्रो सहमतिसँग मिल्दैन। हतियारको व्यवस्थापन र सेनाको संयोजन गरेको भन्ने नेपाली शब्द हो। त्योभन्दा बाहिर कसैले लुकाएर राखेको थियो भने त्यसको जिम्मेवार हामी हुन सक्दैनौं। जिम्मेवार हुने कुरा पनि होइन।’
उनले क्यान्टोनमेन्टबाटै केही हतियार चोरी भएको रिपोर्ट त्यतिबेलै हामीले सरकारलाई गरेको प्रचण्डले तर्क गरेका थिए।
‘त्यो सामान्य घटना हो, त्यसलाई समस्या हल नभएको रूपमा प्रचार गर्न उचित छैन,’ प्रचण्डले भने।
उनले विप्लव समूहका गतिविधिलाई राज्यले गम्भीर रूपले लिनु पर्ने भन्दै छलफल भइराखेको बताए।
‘मलाई लाग्छ यो नियन्त्रण हुन्छ। राजनीतिक रूपमा सहमतिमा आउने हदसम्म सहमतिको प्रयास सरकारले गरेको हो। भविष्यमा पनि गर्छ तर त्यत्रो बलिदान र संघर्षपछि बनेको संविधान र त्यसमाथि वामपन्थीहरूको सरकार भएको बेलामा यसलाई कसैले मान्दैन भने त्यो अतिवाद बाहेक केही पनि हुँदैन,’ प्रचण्डले भने।
उनले अतिवादलाई नियन्त्रण गर्न सरकारले गम्भीर रूपले सोच्ने र राजनीतिक र प्रशासनिक दुबै तरिकाबाट समाधान खोजिने बताए।