वामदेव फेरी विवादमा तानिए : पोखराबाट चुनावमा उठ्ने कुरा के हो ? - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

वामदेव फेरी विवादमा तानिए : पोखराबाट चुनावमा उठ्ने कुरा के हो ?



काठमाडौं– नेकपाका केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमले आफूविरुद्ध फेरि गलत प्रचार गर्न थालिएको बताएएका छन् ।

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रबाट चुलाव लड्ने तयारी गरेको भन्दै आफूविरुद्ध प्रचार सुरु भएको गौतमको गुनासो छ ।

एक प्रेस नोटमार्फत गौतमले शनिबार भनेका छन्, ‘फेरि कुत्सित उद्देश्य प्रेरित कुप्रचार मेरा विरुद्ध शुरु भयो। नेपाली राजनितिक आकासमॉ उज्वल भविष्य सहित उदाएका मेरा प्रिय कमरेड रविन्द्र अधिकारीको असामयिक निधनवाट ठूलो धक्का महसुस गर्दै श्रद्धान्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रविन्द्रको निर्वाचन क्षेत्रवाट उमेदवार वन्ने आशा राखेको आरोप लगाइएको छ।यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर शुरुगरिएको कुप्रचार मॉत्र हो।’

उनले मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई आफूले कहिल्यै मान्यता नदिएको भन्दै जीवनभर पनि नदिने स्पष्ट पारेका छन् ।

आफ्नो इच्छाविपरित पार्टीले निर्णय गरेपनि रवीन्द्रको निर्वाचन क्षेत्रमा आफू उमेदवार नबन्ने गौतमले बताएका छन् ।

उनले उपनिर्वाचन हुँदाको अवस्थामा रवीन्द्रको परिवारका सदस्यलाई नै उमेदवार वनाउन आफू लागिपर्ने पनि बताएका छन् ।

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा बुधबार ज्यान गुमाएका अधिकारी कास्की क्षेत्र नम्बर २ बाट गएको संघीय निर्वाचनमा निर्वाचित भएका थिए । गौतम भने बर्दियाबाट पराजित उम्मेदवार हुन् ।