भारत भन्दा पाकिस्तान शक्तिशाली ?
काठमाडौं । भारतले पाकिस्तानी भूमिमा बम खसालेपछि दुई देशबीच तनाव झन बढेको छ । भारत सरकार र त्यहाँका मिडियाहरुको उत्तेजना हेर्दा कुनै पनि क्षण पाकिस्तानको धैर्यको बाँध फुट्न सक्ने खतरा देखिन्छ । यसबाट कुनै पनि समय दुई देशबीच युद्ध भड्किन सक्ने खतराले विश्व समुदायलाई चिन्तित बनाएको छ । यदि निर्णायक युद्धमा होमिएको खण्डमा दुबै देश ध्वस्त हुन सक्छन्, किनकि दुवै आणविक शक्तिसम्पन्न राष्ट्र हुन् ।
भारतमा तीन महिनापछि लोकसभा चुनाव हुँदैछ । त्यसैले सरकारलाई जनताका अगाडि बढीभन्दा बढी राष्ट्रवादी देखिनु छ । भारतमा भोट बटुल्ने प्रमुख अस्त्र भनेकै धर्म र राष्ट्रवाद हो । र, राष्ट्रवादी देखिने प्रमुख अस्त्र भनेको पाकिस्तानमाथि जाइलाग्नु हो । त्यसैले पुलुआमा घटनाले भाजपा सरकारलाई ठूलो मौका मिलेको छ, उग्र राष्ट्रवाद प्रदर्शन गर्ने । यसमा भारतीय मिडियाले सरकारलाई थप मलजल गरिरहेका छन् ।
भारतीय मिडियाको उत्तेजना यतिसम्म छ कि मानौं उनीहरुको सेनाले चाहे पाकिस्तानलाई खर्लप्पै निल्न सक्छ ।
पाकिस्तान अहिलेसम्म प्रतिरक्षात्मक स्थितिमै देखिन्छ । तर, यसको अर्थ ऊ भारतका अगाडि निरीह भने पक्कै छैन । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भनेका छन् कि भारतले आक्रमण गरे उनीहरुले उचित जवाफ फर्काउनेछन् ।
तर, के यदि भारतले पाकिस्तानमाथि आक्रमण नै गर्यो भने पाकिस्तानले जवाफ फर्काउन सक्छ त ?
बाहिरबाट हेर्दा पाकिस्तानको तुलनामा भारत निकै शक्तिशाली देखिन्छ । पाकिस्तान राजनीतिक अस्थिरता, आन्तरिक कलह र भ्रष्टाचारले थिलथिलो अवस्थामा छ । भारतले भने राजनीतिक स्थिरता र सुदृढ अर्थतन्त्रसँगै विश्वस्तरमा आफ्नो प्रभाव बढाइरहेको छ । साथै, राष्ट्रियताको मामलामा सम्पूर्ण शक्तिहरुको आन्तरिक एकता भारतको विशेषता हो ।
पहिले यी देशको सैन्य शक्तिको तुलना गरौं, जसमा पाकिस्तानभन्दा भारत प्रष्ट अगाडि देखिन्छ । भारतको भूगोल र जनसंख्या नै पाकिस्तानको भन्दा कयौं गुणा ठूलो छ । त्यसैले सैन्य जनशक्ति पनि ठूलो हुने नै भयो ।
१ अर्ब ३३ करोड जनसंख्या रहेको भारतसँग १२ लाखको सैन्य शक्ति छ । संख्याका आधारमा चीन र अमेरिकापछि विश्वमै सवैभन्दा धेरै सैनिक भारतसँग छन् । पाकिस्तान पनि धेरै पछाडि भने छैन । २० करोड मात्रै जनसंख्या रहे पनि पाकिस्तानसँग करिब ८ लाख सेना छन् ।
पाकिस्तानले जनसंख्याको अनुपातमा अत्यधिक सैनिक पाल्नुको कारण भारतसँगको सुरक्षा संवेदनशीलता नै हो । यसका अतिरिक्त भारतसँग २० लाख प्यारामिलिटरी फोर्स छन्, जसलाई सीमा क्षेत्रमा खटाइएको छ ।
रक्षा बजेटको कुरा गर्दा भारत पाकिस्तानभन्दा निकै अगाडि छ । भारतको जीडीपी उच्च भएकाले रक्षा बजेट धेरै हुनु स्वभाविक नै हो ।
भारतले गत वर्ष ४ लाख करोड भारु सेनाका लागि छुट्याएको थियो । यसका आधारमा भारतीय सेना विश्वकै पाँच धनी सेनामध्ये पर्छ । पाकिस्तानको सैनिक बजेट ५० हजार करोड रुपैयाँ मात्र छ ।