प्रचण्डले भने : दुईतिहाई भएर पनि काम गर्न सकेनौं !
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई तिहाइको सरकारले गरेका कामप्रति जनताले प्रश्न उठाएको बताएका छन् ।
जनताले दुई तिहाइको सरकारले छिटोछिटो विकास निर्माणका काम र भ्रष्टाचार नियन्त्रण गर्ने अपेक्षा गरे पनि त्यसअनुसार सरकारले काम गर्न नसकेको गुनासो आएको बताए ।
चुनावका बेला मासिक पाँच हजार सामाजिक सुरक्षा भत्ता पुर्याउने प्रतिवद्धता जनाए पनि त्यो पूरा गर्न नसकेकोमा दाहालले आत्मआलोचना गरेका छन् ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा ‘जनयुद्ध’का प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा मंगलबार भएको कार्यक्रममा अध्यक्ष दाहालले सरकारका कामप्रति जनगुनासो आउने गरेको बताए ।
‘हामीले वृद्धभत्ता मासिक पाँच हजार पुर्याउँछौं भनेका थियौं । बाआमालाई विश्वास लागेको थियो । हामीले कस्सिएरै भनेका थियौं पुर्याइछाड्छौं भनेर,’ अध्यक्ष दाहालले भने, ‘यो पटक पुर्याउन सकिएन । त्यसकारण हाम्रा बाआमालाई त्यति मीठो लाग्या छैन ।’ जनताले चाहेको गतिमा सरकारले काम गर्न नसकेको पनि उनले बताए ।