विप्लवलाई कारबाही गर्न माग - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

विप्लवलाई कारबाही गर्न माग



सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले नौबिसे नागढुङ्गा राजमार्गको वैकल्पिक मार्गका रुपमा रहेको धार्के सीतापाइला सडक स्तरोन्नति गर्ने र भेरी अञ्चल अस्पताल तथा सुशील कोइराला क्यान्सर अस्पताललाई केन्द्रीय अस्पताल बनाउने सरकारको निर्णय स्वागतयोग्य रहेको चर्चा गर्दै ती अस्पतालमा थप उपकरणको व्यवस्था गर्न माग गरे ।

उनिहरुले कैदीबन्दीले तयार गरेका सामग्रीलाई बजारको उचित प्रबन्ध गर्न, कृषिमा दिने अनुदान वृद्धि गर्न, कर्णाली प्रदेशको सडक पूर्वाधारमा पहिलो प्राथमिकता दिन, शान्ति सुरक्षाको उचित प्रबन्ध गर्न पनि माग गरे ।

सांसदहरुले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा बम विष्फोटमा संलग्नलाई तत्काल पक्राउ गरी कार्वाही गर्न सरकारसँग माग गरेका छन् ।

सांसद यशोदा गुरुङ सुवेदीले सो बम विष्फोटको घटनामा संलग्न (नेत्र विक्रम चन्द विप्लव) लाई तत्काल पक्राउ गरी कार्वाही गर्न सरकारसँग माग गरेकी हुन् ।

उनले बम विष्फोटमा परी मृत्यु भएका सिंहप्रसाद गुरुङको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था र घाइते प्रतिक्षा खड्का र अनुषा डंगोलको उपचारको उचित व्यवस्था मिलाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।

गत फागुन १० गते शुक्रबार राति एनसेल प्रालिको गेटमा बम विष्फोटमा परी गुरुङको ज्यान गएको थियो भने खड्का र डंगोल घाइते भएका थिए । गृहमन्त्री रामबहादुर थापा बादलले बम काण्डमा विप्लव समूहको हात रहेको बताइसकेका छन् ।