हिन्दू राष्ट्र र राजसंस्था र संस्कृति शिक्षा माग्दै कमल थापा बालुवाटारमा - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

हिन्दू राष्ट्र र राजसंस्था र संस्कृति शिक्षा माग्दै कमल थापा बालुवाटारमा



काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दू राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको माग गर्दै प्रधानमन्त्रीलाई आफ्नो ज्ञापनपत्र बुझाएको छ ।

राप्रपाका अध्यक्ष कमल थापासहितको टोलीले मंगलबार बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई २२ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो ।

आफ्ना मागसहितको ज्ञापनपत्र बुझाएर राप्रपाले शान्तिपूर्ण जनसंघर्षको थालनी गरेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

प्रजातन्त्र दिवसको दिन पारेर राप्रपा अध्यक्ष कमल थापासहित बालुवाटार पुगेको प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै धर्म निरपेक्षता खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रतासहित नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्न माग गरेको हो ।

राप्रपाले राजसंस्थासहित सबै राजनीतिक शक्ति अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न सर्वपक्षीय गोलमेच सम्मेलनको आयोजना गर्न माग गरेको छ ।

राप्रपाले संघीयताबारे राष्ट्रिय जनमत संग्रह गर्न मागसमेत गरेको छ । यसैगरी कक्षा १० सम्म संस्कृत शिक्षा अनिवार्य गर्नसमेत राप्रपाले माग गरेको छ ।

राप्रपाले पुस २७ गते पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस, फागुन ७ गते त्रिभुवन जयन्त र प्रजातन्त्र दिवस राष्ट्रिय पर्वका रुपमा मनाउने तथा कृष्ण जन्माष्टमी र रामनवमीमा सार्वजनिक बिदा दिन पनि माग गरेको छ ।