अब मन्त्री हेरफेर गर्ने तयारीमा ओली -प्रचण्ड ! - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

अब मन्त्री हेरफेर गर्ने तयारीमा ओली -प्रचण्ड !



नेपाल कम्युनिस्ट पार्टीभित्र सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने तयारी सुरु भएको छ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकारमा सहभागी मन्त्रीहरु फेरफेर गर्ने भद्र सहमति भएको हो।

सरकार गठन गर्नुपूर्व एक वर्षको अवधिमा मन्त्री हेरफेर गर्ने सहमति बमोजिम सरकारमा पार्टीको तर्फबाट सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरु पठाउने गृहकार्य अगाडि बढेको खबर आजको समाचारपत्र दैनिकमा मधुसूदन रायमाझीले लेखेका छन्।

सरकारले प्रभावकारी काम गर्न नसकिरहेको भन्दै आलोचना भइरहेको बेला नेकपाभित्र भने मन्त्री फेर्ने गृहकार्य अगाडि बढेको स्रोतको दाबी छ।

स्रोतका अनुसार आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच भैंसेपाटीको एक घरमा भएको गोप्य छलफलमा मन्त्री परिवर्तन गरेर भए पनि सरकारको कामलाई प्रभावकारी बनाउने समझदारी जुटेको नेकपाका एक सचिवालय सदस्यले बताए।

उनका अनुसार हाल सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री ओलीको मूल स्प्रिटलाई पक्रन नसकेकाले मन्त्री फेर्ने अध्यक्षद्वयले गृहकार्य गरेका हुन्।

सरकारमा नेकपाको तर्फबाट प्रधानमन्त्रीसहित २२ र संघीय समाजवादी फोरम ३ गरी २५ जना मन्त्री रहेका छन् । जसमा प्रधानमन्त्रीसहित २२ जना मन्त्री र ३ जना राज्यमन्त्री रहेका छन्।

प्रधानमन्त्री ओलीले मन्त्रीहरुको पनि अनुगमन गर्ने चेतावनी दिएपछि अधिकाशं मन्त्रीले त्रासमा काम गर्नुपरेको बताइएको छ।

प्रधानमन्त्री कार्यालयले मन्त्रीहरुको कामको मूल्याङ्कन गर्नका लागि नम्बर दिने प्रक्रिया अगाडि बढाएको थियो । विभागीय काम गर्न पनि प्रधानमन्त्रीले हस्तक्षेप गरेको गुनासो मन्त्रीहरुको रहेको छ।

मन्त्रीहरुले विभागीय मन्त्रालयअन्तर्गतका विभागलगायतका निकायमा नियुक्ति र सरुवा बढुवा गर्न पनि गर्न प्रधानमन्त्री कार्यालयले चासो देखाएपछि प्रधानमन्त्री र मन्त्रीहरुको बीचमा शीतयुद्ध चल्दै आएको छ।