पूर्वमन्त्री आचार्य भारतका लागि राजदूत नियुक्त
काठमाडौं । पूर्वमन्त्री निलाम्बर आचार्य भारतका लागि आवासीय राजदूत नियुक्त हुनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा पूर्वमन्त्री आचार्यलाई आइतबार राजदूत नियुक्त गर्नुभएको हो ।
संविधानको धारा २८२ को उपधारा १० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पूर्वमन्त्री आचार्यलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषदबाट राजदूतमा सिफारिस हुनुभएका आचार्यलाई मंसिर २३ गते बसेको संसदीय सुनुवाई समिति बैठकले अनुमोदन गरेको थियो । आचार्य बहुदलीय व्यवस्थापछि बनेको कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा मन्त्री बन्नुभएकाे थियो ।
अन्तरिम सरकारमा उहाँ कानुन तथा न्यायमन्त्री बन्नु भएको थियो । आचार्य २०५३ देखि २०५६ सालसम्म श्रीलङ्काको राजदूत बन्नु भएको थियो।