कांग्रेसको सामान्य विरोध र अवरोधलाई सरकारले अन्यथा ठान्न हुदैन :नेता खनाल
काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले देशमा भएका मूलभूत समस्या समाधान भइसकेको जिकिर गरेका छन् ।
६२–६३ को जनआन्दोलनपछि नेपालमा ठूला राजनीतिक परिवर्तन भएको उल्लेख गर्दै नेता खनालले संघीयताअनुसारको तीन तहको सरकार गठन भएपछि विकास निर्माणको बाटोमा देश अघि बढेको बताए ।
प्राइम टाइम्स टेलिभिनजको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै नेता खनालले वर्तमान सरकारले परिवर्तनको मर्मअनुसार काम गर्दै अघि बढ्नुपर्नेमा जोड पनि दिए ।
पछिल्लो समय प्रमुख प्रतिपक्षी दल कांग्रेसले विरोधका नाममा कुनै उपद्रो गर्न आवश्यक नरहेको पनि नेता खनालले बताए ।
सत्तापक्ष र प्रतिपक्षीबीच अन्तरसंघर्ष चल्ने भए पनि सकारात्मक पाटोलाई बढि ध्यान दिनुपर्ने नेता खनालको तर्क छ ।
लमो समयको अन्तरालपछि कांग्रेस प्रतिपक्षमा बसेको बताउँदै खनालले कांग्रेसको भूमिकालाई सबैले नजिकबाट हेरिरहेको बताए ।
संसद प्रतिपक्षको भएकाले सामान्य विरोध र अवरोधलाई सरकारले पनि अन्यथा ठान्न नहुने खनालको तर्क छ ।
डा. गोविन्द केसीको अनसन र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच सरकारले बहुमतको बलमा विधेयक पारित गरेपछि समस्या थप जटिल बन्दै गएको छ ।
केसी र कांग्रेससहित अन्य दल र संघ संस्थाले पनि विधेयकलाई डा. केसीसँग गरेको सम्झौताबमोजिम संशोधन गरेर मात्रै ऐन बनाउनुपर्ने माग गरेका थिए ।
आफूसँग भएको सम्झौताविपरित सरकारले जबजरस्ती विधेयक संसदमा पेश गर्ने संकेतपाएदेखि नै अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
यस सन्दर्भमा कुरा गर्दै नेता खनालले केसीसँग भएको सम्झौतालाई राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा राम्रोसँग प्रतिबिम्बित गरिएको दावी गरे ।
“जहाँसम्म केसीको अनसनको कुरा छ । डा. केसीको अनसनको औचित्य समाप्त भएको छ । बाँकी कुरा केही छन् भने सरकारसँग वार्ता र छलफल गर्नुपर्छ ।” खनालले भने ।
नेता खनालले सरकारलाई पनि केसीका विषयमा गम्भीर हुन आग्रह गरेका छन् । वार्ताबाटै समस्या समाधान गर्नुपर्नेमा जोड दिदै खनालले सरकारले वार्ता गर्नुपर्ने बताए ।
“सरकारले चाँडोभन्दा चाँडो वार्ताको पहल गर्नुपर्छ ।” खनालले भने ।