गोविन्द केसीको अनसनको औचित्य सकियो:प्रवक्ता बाँस्कोटा
काठमाडौँ । सरकारले प्राध्यापक डाक्टर गोविन्द केसीको अनसनको औचित्य सकिएको टिप्पणी गरेको छ ।
बिहीबार सिंहदरबारमा आयोजित मन्त्रिपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले केसीको अनसन तोडाउने जिम्मा उनलाई ‘बोक्ने’हरुकै भएको बताए । राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पास भएपछि यो विषय सकिएको प्रवक्ता बाँस्कोटाले बताए ।
उनले केसीको आन्दोलनभन्दा एक स्टेप अगाडि बढेर सरकारले मागहरु सम्बोधन गरेको स्मरण गराए । माग पूरा भएको खुसीयालीमा अनसन छोड्ने, उक्साउनेहरुले पनि त्यो काम छाड्नु पर्ने उनको दाबी छ । प्रतिपक्षले सत्ता गुमाउनुपरेको पीडामा डा केसीलाई उचालेको समेत उनले आरोप लगाए ।
प्रवक्ता बाँस्कोटाले सरकारले अनसनको बेवास्ता नगरेको दाबी गरे । ‘सरकारले बेवास्ता गरेको भए विधेयक कसरी पेस हुन्थ्यो ? संसदीय समितिमा उहाँलाई छलफलका लागि बोलावट हुँदा उहाँको अस्विकार्यता किन रह्यो?’, बाँस्कोटाले भने ।
अस्पतालसम्बन्धी माग पूरा भइसके पनि पनि कांग्रेसले संसद अवरोध गरेको भन्दै उनले केही मान्छेको हठले संसदीय प्रक्रिया बन्धक बनाउन उपयुक्त नहुने बताए ।