बझाङका प्रहरी प्रमुखले जुवा खेलाउन आदेश दिएपछि
बझाङ । बझाङका प्रहरी प्रमुख प्रवीण धितालले जुवा खेलाउन आदेश दिएपछि विवादमा तानिएका छन् ।
डिएसपी धितालले जुवा खेलाउन दिएको आदेशको अडियो रेकर्ड सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
सादा पोसाकमा घुमुवाको काम गर्ने प्रहरी हवल्दार नरबहादुर खड्कालाई डीएसपी धितालले जुवा खेलाउन निर्देशन दिएको टेलिफोन संवाद सामाजिक सञ्जालमा सार्वजनिक भएपछि हँगामा भएको छ ।
घुमुवा प्रहरी हवल्दार खड्का र डीएसपी धितालबीच भएको कुराकानीमा खड्काले डिएसपी धिताललाई ‘शिवराज भन्ने व्यक्तिको घरमा जुवा खेल्छौँ भन्दै छन् । के गरौ सर ?’ भन्ने आसयको प्रश्न गरेका छन । धितालले सुरक्षित स्थानमा खेलाउनु भन्ने खालको निर्देशन दिएका छन् । उत्तरमा खड्काले ‘घर एकान्त मै छ । त्यसको लागि म छु भनेको सुनिन्छ ।’
अडियोमा अर्को पटक जुवा खेलाउनका लागि खड्काले अनुमति मागेका छन् । डीएसपीले बजारबाट बाहिर लगेर मात्र खेलाउन र आफू सुरक्षित बस्न भनेका छन् ।
खड्काले इन्सपेक्टरले सईको कमाण्डमा जुवाडे पक्राउ गर्न प्रहरी परिचालन गर्न लागेको जानकारी आफूलाई आएको डीएसपीलाई बताएपछि डीएसपीले बजार बाहिर कतै सुरक्षित स्थानमा लगेर जुवा खेलाउन खड्का लाई निर्देशन दिएका छन् ।
डिएसपी धितालले आफू आएको केही दिनमै जुवाडे विरुद्धको अपरेसन सञ्चालन गरेपछि जिल्लामा जुवा पूर्णरुपमा बन्द भएको दाबी गर्दै केही पत्रकारले पुरानो रेर्कड प्रयोग गरेर आफूसँग बार्गेनिङ गरेको दाबी गरेका छन ।