आफ्ना सांसदहरूले नाराबाजी गरिरहँदा देउवा भने आफ्नै स्थानबाट रमिता हेरिरहे
काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदलाई बहमुतले चलाउन नसक्ने बताएको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सचेतक पुष्पा भुषालले सरकार दुई तिहाइले चल्ने भए पनि संसद दुई तिहाइले चलाउन नमिल्ने बताइन् ।
निर्धारित समय १ बजेभन्दा १ घन्टापछि बसेको आजको बैठक सुरूमै नेपाली कांग्रेसका सांसद उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख कृष्णबहादुर महराले भुषाललाई बोल्न समय दिएका थिए ।
सांसद भुषालले सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नामका अस्पताल केन्द्र सरकार मातहत राख्ने निर्णय नभएसम्म संसद चल्न नदिने बताइन् ।
आफ्ना सांसदहरूले नाराबाजी गरिरहँदा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा भने आफ्नै स्थानबाट रमिता हेरिरहेका छन् ।
शुरूमा उठेर वेलतर्फ जान खोजेका देउवा फेरि आफ्नै स्थानमा आएर उभिएका हुन् ।