एक बर्षभित्र पानीजहाज संचालन प्रक्रिया अगाडि बढ्छ
काठमाडौं । नेपालका नदीमा पानीजहाज संचालन भएको देख्ने नेपाली जनताको बर्षौंदेखिको सपना अब पूरा हुने भएको छ । सरकारले कोसी र नारायणी नदीमा आगामी एक बर्षभित्र पानीजहाज संचालन प्रक्रिया अगाडि बढाउने भएपछि नेपाली जनताको त्यो सपना पुरा हुने भएको हो ।
पानीजहाज संचालनका लागि सरकारले यससम्बन्धी कार्यालय स्थापना गर्ने निर्णय एकसाता अघि नै गरिसकेको छ ।
सोही कार्यालयमार्फत पानीजहाज दर्तालगायत आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउने बताइएको छ । पानीजहाज कार्यालय स्थापनासँगै जहाज संचालन गर्ने प्रक्रिया औपचारिक रुपमा अघि बढ्ने जल तथा उर्जा आयोगले जनाएको छ ।
आयोगका सहसचिब माधव बेलबासेले भने,‘कार्यालय स्थापनासँगै यससम्बन्धी प्रक्रिया अघि बढ्नसक्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा हिन्द महासागरबाट नेपालमा पानीजहाज ल्याउने तथा रेल संचालन गर्ने विषयमा नेपाल र भारतबीच सम्झौता भएको थियो । -राजधानी दैनिकबाट