गान्धी पुत्री प्रियङ्का पनि अब राजनीतिमा - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

गान्धी पुत्री प्रियङ्का पनि अब राजनीतिमा



ईन्द्र कमल जैरु /नयाँ दिल्ली 

भारतमा २०१९  लोकसभा चुनाव अघि राजनीतिक दलहरूले जीतको रणनीति तयार गरिरहेका छन् । भारतको प्रमुख विपक्षी दल काँग्रेसले आफ्नो नयाँ रणनीति अनुसार प्रियङ्का गान्धी वाड्रालाई उत्तर प्रदेशको पूर्वी क्षेत्रका लागि महासचिव नियुक्त गरेको छ । पूर्वी यु पी अन्तरगत वाराणसी र गोरखपुर क्षेत्र पर्दछन् । यसअघि केवल उत्तर प्रदेशको अमेठी निर्वाचन क्षेत्रका लागि काँग्रेस उम्मेदवारको पक्षमा चुनाव प्रचारमा सीमित रहने प्रियङ्कालाई महासचिवमा नियुक्त भएसँगै उनले राजनीतिमा औपचारिक रूपमा प्रवेश गरेकी छिन । प्रियङ्कालाई पहिलो पटक काँग्रेसमा कुनै जिम्मेवारी दिइएको हो भने उनले आगामी फरवरीदेखि कार्यभार सम्हाल्ने छिन ।

प्रियङ्का गान्धी वाड्रालाई पार्टीमा यति ठुलो जिम्मेवारी दिइएपछि काँग्रेसका नेताहरूले यो निर्णयसँगै काँग्रेस कार्यकर्तामा उत्साह थपिने बताएका छन् । त्यही सत्तारुढ दल भाजपाले भने यसलाई परिवारवादको उदाहरण भएको बताएको छ ।

अखिल भारत काँग्रेस समिति (एआईसीसी) ले बुधवार एक प्रेस विज्ञप्ति जारी गरी काँग्रेस अध्यक्ष राहुल गान्धीले सङ्गठनको महासचिवमा केसी वेणुगोपाल, प्रियङ्का गान्धी वाड्रालाई उत्तर प्रदेश पूर्वीको महासचिव, ज्योतिरादित्य सिन्धियालाई उत्तर प्रदेशको पश्चिम क्षेत्रको महासचिव र गुलाम नबी आजादलाई हरियाणाका लागि महासचिव नियुक्त गरिएको जनाएको छ । प्रियङ्का गान्धी वाड्रा भने पूर्व प्रधानमन्त्री स्वर्गीय राजीव गान्धी र काँग्रेसकी पूर्व अध्यक्ष सोनिया गान्धीकी पुत्री हुन भने काँग्रेसका वर्तमान अध्यक्ष राहुल गान्धीकी बहिनी हुन ।