नयाँ दिल्लीको जीवी रोडमा बिक्री गरिएकी एक नेपाली किशाेरीको उद्धार - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

नयाँ दिल्लीको जीवी रोडमा बिक्री गरिएकी एक नेपाली किशाेरीको उद्धार



काठमाडाै‍‌ – ‘माइती इन्डिया’ले नयाँ दिल्लीमा बिक्री गरिएकी एक नेपाली किशाेरीको उद्धार गरी नेपाल पठाएको छ। नयाँ दिल्लीको जिबी रोडको कोठी नं. ६४ को तेस्रो तल्लाबाट उषा राई (परिवर्तित नाम)लाई नेपाल प्रहरीको सूचनाको आधारमा उद्धार गरिएको हो।

नेपाली जनसम्पर्क समिती भारतका अध्यक्ष  बालकृष्ण पाण्डे र दिल्ली प्रहरीको सहयोगमा उद्धार गरी नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सिआइबी)लाई जिम्मा लगाइएको ‘माइती इन्डिया’ले जनाएको छ।

पीडित महिलासहित अन्य ४ जनालाई पनि ६/६ लाख रुपैयाँका दरले बेचेको बताइएको छ। उनीहरुलाई बिक्री गर्ने कार्यमा स‌ंलग्न भएकाे अभियाेगमा सिआइबीले सुनसरीस्थित धरान-१७ का ३१ वर्षीय छोङहाङ राई भनिने सन्तोष राईलाई पक्राउ गरी हिरासतमा लिएकाे छ।

उषा राईको पिताको मृत्यु भइसकेको छ भने आमा वैदेशिक रोजगारीमा रहेको बताइएको छ। पीडित राई ७ कक्षामा अध्ययनरत थिइन्। छिमेकी सन्तोष राईले ललाइफकाई महिनाको ३० हजार रुपैयाँको जागिर लगाइदिने भन्दै उनीसहित ४ किशोरीलाई जोगवनी हुँदै नयाँ दिल्ली पुर्‍याएका थिए।

‘माइती इन्डिया’ले भारतका विभिन्न स्थानबाट तीन महिनाभित्र एक सय ११ जनाको उद्धार गरी नेपाल फिर्ता गरेको छ।