डाक्टर केसीको अवस्था चिन्ताजनक,काठमाडौंबाट हेलिकप्टर मगाईदै
काठमाडौं,। अनशनरत डाक्टर केसीको अवस्था चिन्ताजनक भएको छ । उनको स्वास्थ्यमा एक्कासी गम्भिर समस्या देखिएपछि अहिले काठमाडौंबाट हेलिकप्टर मगाईएको छ ।
डाक्टर केसीका सहयोगी डाक्टर अभिषेक प्रताप सिंहले कांग्रेस नेता एवम् पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापालाई फोन गरेर केसीलाई तुरुन्त काठमाडौं ल्याउनुपर्ने बताएका हुन् ।
इलाममा अनसनरत डा केसीको स्वास्थ्यमा विभिन्न ९ वटा समस्या देखिएको छ। हिजो गरिएको स्वास्थ्य परीक्षणमै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट खटिएका विशेषज्ञ डाक्टरहरुको टोलीले गरेको परीक्षणमा उनको स्वास्थ्यमा खतराका संकेतहरु देखिएका थिए ।
प्रतिष्ठानको अस्पतालका सहनिर्देशक डा विकास साहको टोलीले डा केसीलाई तत्कालै आइसियू र सिसियू भएको अस्पतालमा सार्नुपर्ने सुझाव दिएको थियो ।
परीक्षणका क्रममा डा केसीको शरीरमा अक्सिजनको मात्रा कम हुँदै ८० प्रतिशतमा झरेको, मुटुको चाल अनियन्त्रित भई घटेर ३५ र बढेर २०० सम्म पुग्ने गरेको, शरीरमा ग्लुकोजको मात्र कम हुँदै गएको, अनसनका कारण नियमित खाँदै आएको मुटुको औषधि खान छुटेको, शरीरमा हानिकारक रसायन बढ्दै गएको लगायतका समस्या देखिएको थियो ।