वाइडबडी प्रकरणमा ओली-देउवाको नाम आएपछि नेताहरुबीच भनाभन (भिडियो सहित)
काठमाण्डौ । पछिल्लो समय सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल कांग्रेसबीच वाइडबडी प्रकरणमा आरोपप्रत्यारोप चलिरहेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा वाइडबडी खरिदको निर्णय भएकाले देउवा पनि दोषी हुने नेकपाको दावी छ भने अहिले नेकपाको नेतृत्वमा रहेको सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी नै दोषी भएको जिकिर गर्दै आएको छ ।
यसै विषयमा प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै नेकपाका नेता केशव बडालले वाइडबडी खरिद प्रकरणमा जो दोषी देखिए पनि सरकारले कारबाही गर्ने आश्वासन दिए ।
कार्यक्रममा कांग्रेस नेता महेन्द्र यादवले उक्त प्रकरणमा देउवा दोषी नभएको जिकिर गरे ।
वाइडबडी खरिद प्रकरण केपी ओली पहिलोपटक प्रधानमन्त्री भएदेखि सुरु भएको र अहिले पनि ओली नै प्रधानमन्त्री हुँदा अनियमितता सार्वजनिक भएकाले यसमा देउवाको संलग्नता नरहेको यादवको तर्क छ ।
यो अनियमिततामा केपी ओली पनि नैतिक रुपमा दोषी भएको यादवको भनाई छ । तर बडालले भने केपी ओली दोषी नभएको बताए । बडालले छानविनका लागि आयोग गठन भएकाले उक्त आयोगले नै सत्य तथ्य पत्ता लगाएपछि सबै कुरा बाहिर आउने बताए ।
तर यादवले भने दोषीलाई जोगाउनका लागि आयोग बनाइएको आरोप लगाए ।