प्रहरीको रामधुलाईले सिधै र्आइसीयूमा - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

प्रहरीको रामधुलाईले सिधै र्आइसीयूमा



बाग्लुङ । प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट गलकोट नगरपालिका ६ हरिचौरका ४० बर्से सोमबहादुर बस्‍नेत गम्भीर घाइते भएका छन्। घाइते बस्‍नेतलाई स्थानीय निजी अस्पतालमा सामान्य उपचारपछि पोखरा लगिएको छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

पोखराको फेवासिटी अस्पतालको र्आइसीयूमा उनको उपचार भइरहेको बस्‍नेतकी श्रीमती कृष्णकुमारीले जानकारी दिइन्। बस्‍नेतको पिसाब नली फुटेको छ। कुटपिटपछि शरीरमा रगत धेरै जमेकाले त्यो निकालेर उनको अपरेसन गरिएको अस्पतालले जनाएको छ। स्थानीय बासिन्दाले प्रहरीले सामान्य विषयमा निघात कुटपिट गरेको भन्दै घटनामा संलग्न प्रहरीलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

सोमबार राति साढे ९ बजेको समयमा हटिया बजारमा बस्‍नेतसहित रहेका बिक्की गैरे, कृष्ण खत्री र प्रहरीबीच भनाभनपछि कुटपिटमा परिणत भएको थियो। बस्‍नेत, खत्री र गैरेले मदिरा सेवन गरेको र प्रहरीले सोधपुछ गर्ने क्रममा झगडा भएको प्रत्यक्षदर्शी बताउँछन्। प्रहरीको कुटपिटबाट घाइते कृष्ण खत्रीको अवस्था भने सामान्य छ। गैरेलाई भने केही नगरेको बताइएको छ।

जनताको सुरक्षामा खटिएका प्रहरीबाटै निर्घात कुटपिटको घटना गम्भीर विषय भएकाले घटनामा सम्लग्नलाई तत्काल कारबाही गर्नुपर्ने घाइते बस्‍नेतकी श्रीमती कृष्णकुमारीले बताइन्। ‘जो रक्षक उही भक्षक भने जस्तो भयो, हो उहाँहरूले मदिरा पिएकाले केही गल्ती कमजोरी भएको होला,’ उनले भनिन्, ‘त्यसको समाधान र सजाय पिटेर होइन, सम्झाइबुझाइ गरेर पठाउने या नियम अनुसार चौकीमा लग्न सकिन्थ्यो।’

कुटपिटमा संलग्न आरोप लागेका प्रहरी जवान विष्ट र थापालाई इलाका प्रहरी कार्यालय हरिचौरमा तानिएको प्रहरी निरीक्षक केशवसिहं थापाले बताए।