सचिव कुट्ने मन्त्रीलाई कारबाही हुन्छ :मन्त्री पण्डित - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

सचिव कुट्ने मन्त्रीलाई कारबाही हुन्छ :मन्त्री पण्डित



काठमाडौं – प्रदेश २ का उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गर्ने आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवमाथि कडा कारबाही गर्न माग गर्दै कर्मचारी संघ, संगठनहरूले सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई ज्ञापनपत्र बुझाउँदै सचिव झामाथि कुटपिट गर्नेमाथि कडा कारबाही गर्न माग गरेका हुन् ।

आइतबार मन्त्री यादवले सचिव झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका थिए । सो घटना निन्दनीय भएको उल्लेख गर्दै कर्मचारी संघ, संगठनहरूले सो सम्बन्धमा सत्यतथ्य छानबिन गर्न आफूहरूसहितको सहभागिता हुनेगरी एक उच्चस्तरीय छानबिन समिति गठन गर्न र दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।

कर्मचारीहरूमाथि पटकपटक दुर्व्यवहार हुने गरेको भन्दै कर्मचारी संघ, संगठनहरूले त्यस्ता खालको क्रियाकलाप तत्काल नरोकिए सरकारविरूद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

मन्त्री पण्डितले सो घटनामा गल्ती गर्नेमाथि कडा कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनले सो घटनाका सम्बन्धमा छानबिन गर्न प्रदेश २ को सरकारले छानबिन समिति गठन गरेको उल्लेख गर्दै सो प्रतिवेदन आएपछि दोषीमाथि कडा कारबाही गर्ने बताएका हुन् । मन्त्री पण्डितले मन्त्री, कर्मचारी जो भएपनि सरकारले गल्ती गर्नेलाई बाँकी नराख्ने पनि स्पष्ट पारे ।

मन्त्री पण्डितले सो घटनापछि मन्त्री यादव र सचिव झाबाट आएको सार्वजनिक अभिव्यक्तिप्रति पनि आपत्ति जनाए ।

उनले सो घटनाबाट उत्तेजित नहुन पनि कर्मचारीहरूलाई सचेत गराए । त्यस अवसरमा मन्त्री पण्डितले कार्य क्षेत्रमा कर्मचारीहरूको सुरक्षा दिने कुरामा ढुक्क हुन पनि कर्मचारी संघ, संगठनका नेताहरूलाई आग्रह गरे ।