डा. केसीलाई तत्कालै आईसीयूमा राख्नुपर्ने
काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर इलाममा ६ दिनदेखि १६ औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई निमोनिया देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । आज (सोमबार) गरिएको स्वास्थ्य परीक्षणमा दायाँ फोक्सोमा संक्रमण (निमोनिया) देखिएको र मुटुको चाल घटेर ३४ र बढेर २४० सम्म पुग्ने गरेको चिकित्सकको भनाइ छ ।
सहरी विकास भवन निर्माण डिभिजन कार्यालयमा अनसनरत डा. केसीको स्वास्थ्य अवस्थाको ख्याल गर्दै आज बिहान जिल्ला अस्पताल इलाममा सारिएको थियो । इलाम अस्पतालका चिकित्सक डा. विजेन्द्र कुमार शाहले मुुटुमा आएको गडबडी हेर्दा जुनकुनै समयमा गम्भीर समस्या आउन सक्ने बताए । “डा. केसीलाई तत्कालै आईसीयूमा राख्नुपर्ने अवस्था छ । तर इलाम अस्पतालमा आईसीयू छैन । अन्य अस्पतालमा लगेर तत्कालै उपचार गनुपर्ने अवस्था छ,” उनले भने ।
शरीरमा रोग प्रतिरोधात्मक क्षमता घटेको, घाँटीमा संक्रमण, दायाँ फोक्सोमा संक्रमण (निमोनिया), मुटुको चाल घटबढ, रिंगटा लाग्ने, पेट पोल्ने, दुख्नेलगायत समस्या देखिएको डा. केसीको हेरचाहमा रहेका डा. रामकृष्ण आचार्यले बताए । उनले भने, “हाल अस्पतालमा नजिकबाट डा. केसीसँगको भेटघाट रोकेका छौं ।” ६ बुँदे माग राखेर डा. केसी पुस २५ देखि १६ औं सत्याग्रहमा बसेका हुन् ।