एक करोड २० लाख सक्यो कांग्रेसले महासमिति बैठकमा - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

एक करोड २० लाख सक्यो कांग्रेसले महासमिति बैठकमा



काठमाडौं । कांग्रेस महासमिति बैठकमा शीर्ष नेताहरूले सदस्यहरूलाई व्यक्तिगत खर्चमा पालैपालो खाना खुवाएपछि पार्टी कोषको खर्च कम भएको छ ।

पाँच दिनमा सकाउने योजनाअनुसार एक करोड खर्च अनुमान गरिएकोमा तीन दिन बैठक लम्बिए पनि खर्च २० लाख मात्रै थपिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘हामीले सुरुमा १ करोड खर्चको आकलन गरेका थियौँ । बैठक तीन दिन लम्बिए पनि २० लाख मात्रै बढी खर्च भएको प्रारम्भिक हिसाब छ,’ कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम केसीले भने, ‘नेताहरूले व्यक्तिगत रूपमा खाना खुवाउँदा पार्टी कोषको ७० लाख ४० हजारभन्दा बढी जोगिएको छ ।’

सात शीर्ष नेताहरूले निजी खर्चमा हरेक दिन पालैपालो रात्रिभोज गरेका थिए । कांग्रेसले महासमिति सुरु हुनुअघि नै सदस्यहरूलाई बिहानको खाना मात्रै खुवाउने सूचना गरेको थियो ।

बेलुकाको खानाको व्यवस्था आफैँ गर्नुपर्ने भनिएको थियो । तर, नेताहरूले व्यवस्था गरेपछि सदस्यहरूलाई सजिलो भयो । केही नेताहरूले पार्टीमा प्रभाव र शक्ति देखाउन नेताहरूले व्यक्तिगत खर्चमा खाना खुवाएको भन्दै असन्तुष्टि जनाए, बहिस्कारसमेत गरे ।

झन्डै एक हजार ६ सय सहभागी बैठक २८ मंसिरमा सुरु भई ६ पुसमा सकिएको थियो । २९ मंसिरदेखि ४ पुससम्म पार्टी प्यालेसमा र ५ पुसदेखि ८ पुससम्म पार्टी कार्यालय सानेपामा बैठक चलेको थियो ।