काँकडभिट्टा सेमिफाइनलमा - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

काँकडभिट्टा सेमिफाइनलमा



धनगढी  – मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टर तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिवार धनगढी रङ्गशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा काक्करभीट्टाले एपीएफलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो ।

खेलको नवौँ मिनेटमा युवराज खड्काले एपीएफलाई अग्रता दिलाए । श्याम नेपालीले दिएको लामो पासलाई युवराजले गोलमा परिणत गरेका थिए । २६ औँ मिनेटमा विश्वास श्रेष्ठले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई एपीएफका गोलरक्षक राजुले उत्कृष्ट डाइभ दिँदै बचाए । ४१ औँ मिनेटमा विश्वास श्रेष्ठले बराबरी गोल फर्काए । विशाल राईले दिएको थ्रु पासमा विश्वासले गोलरक्षकलाई समेत छलाएर खाली पोस्टमा गोल गरेका थिए ।
इन्ज्युरी समयको पहिलो मिनेटमा एपीएफका गोलरक्षक राजु नगरकोटिले विश्वास श्रेष्ठको फ्रिकिक बचाउने प्रयासमा फुत्काएपछि रिबाउन्डमा कप्तान खामिरले बललाई पोस्टको दिशा दिन सकेनन् ।

दोस्रो हाफको ६१ औँ मिनेटमा काँकडभिट्टा अग्रता लिनबाट चुक्यो । विष्णु सुनारको फ्रिकिकमा विशाल राईले अफसाइड ट्र्याप बिट गरे पनि बललाई पोस्टको दिशा दिन सकेनन् । खेलको तीन मिनेट समय बाँकी रहँदा काक्करभीट्टाले अग्रता लियो । कर्नरमा आएको बल रिबाउन्ड भएपछि विकास राईले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

विजयी टोलीका प्रशिक्षक कर्ण थापामगरले पहिलो हाफमा प्रदर्शन सोचेअनुरुप नभएपनि बराबरी गोल निस्केपछि मनोबल उच्च रहेको बताए । उत्कृष्ट प्रदर्शन गरेका काक्करभीट्टाका विश्वास श्रेष्ठ म्यान अफ द म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे यस जितसँगै काक्करभीट्टा खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

फाइनल प्रवेशका निम्ति टोलीले रुस्लान थ्री स्टार र च्यासलको खेलको विजेतासँग खेल्नेछ । मोफसलकै सर्वाधिक धनराशि पुरस्कार भएको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ जनही १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगिताअन्तर्गत आइतबारको खेल : मनाङ मर्स्याङदी विरुद्ध नेपाल पुलिस क्लब