पृथ्वी जयन्तीको शुभकामना दिदै पुर्व राजाले भने देश सकसपूर्ण र कपटपूर्ण अवस्थामा आयो
काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देश सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रिएको जनाएका छन्।
२९७औं पृथ्वी जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै शाहले भुलेर,अल्मलिएर र आफ्नै अस्तित्वबोधबाट विस्मरण गर्दा देश सकसपूर्ण र कपटपूर्ण अवस्थामा आएको उल्लेख गरेका छन्।
पृथ्वीनारायण शाहको दिव्य उपदेश अनुरुप व्यवहार नगर्दा मातृभूमिको अस्तित्वमा घात-प्रतिघातको कालो बादल मडारिरहेको उनले जनाएका छन्।
राजनीतिक दलप्रति इंगित गर्दै शाहले वाद र विचारका आडमा नेपाली-नेपालीबीच फाटो पैदा गरेको आरोप लगाएका छन्। ‘दुराग्रह बढाउने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई क्षति पुर्याउने, अनुशासनहीनता र अराजकतालाई प्रोत्साहन गर्ने जस्ता कार्य कुनै वाद र विचारका आडमा गरिनु हुँदैन,’ उनले सन्देशमा उल्लेख गरेका छन्।