कादर खान ‘काेमा’ मा - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

कादर खान ‘काेमा’ मा



बलिउड फिल्मका चर्चित अभिनेता कादर खान यतिबेला बिरामी भएर क्यानडाको एउटा अस्पतालमा भर्ना भएका छन् ।

८१ वर्षीय कादर खानको स्वास्थ्य स्थिति बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ । खानलाई सास फेर्न समस्या भएपछि अस्पताल लगिएको थियो भने अहिले उनी कोमामा छन् ।

खबरहरुका अनुसार कादर खानलाई प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) डिसअर्डर नामक रोग लागेको हो । यस रोगका कारण अहिले कादर खानको दिमागलेसमेत काम गर्न छोडेको बताइएको छ । अहिले उनको स्वास्थ्यस्थिति निकै गम्भीर रहेको छ ।

सामाजिक सञ्जालमा खानका फ्यान तथा बलिउड कलाकारले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।

अभिनेता अभिताभ बच्चनले कादर खानको स्वास्थ्य लाभको कामना गर्दै लेखेका छन्, ‘एउटा उत्कृष्ट कलाकार तथा लेखक अस्पतालमा छन् । उनको शीघ्र स्वास्थ्य लाभको कामना र प्रार्थना गर्दछु । मैले उनलाई स्टेजमा अभिनय गरेको देखेको छु । उनले मेरा फिल्महरुका लागि उत्कृष्ट लेखन गरेका छन् । उनीसँग उत्कृष्ट समय बिताएको छु । धेरैलाई थाहा नहोला उनी गणित पढाउँथे ।’

यस्तै अभिनेत्री रविना टण्डनले ट्वीट गर्दै लेखेकी छिन्, ‘कादर जी तपाई सधैँ हामीसँगै र हाम्रो प्रार्थनामै हुनुहुन्छ । तपाईको शीघ्र स्वास्थ्य लाभको कामना । हामीले एकसाथ उत्कृष्ट फिल्ममा काम गरेका छौं । तपाई स्वस्थ र फिट भएको खबर सुन्न आतुर छु । भगवानले तपाईंको रक्षा गरुन् ।’

कादर खानले सन् १९७३ मा फिल्म ‘दाग’ मार्फत बलिउड डेब्यू गरेका थिए ।

‘बाप नम्बरी बेटा दश नम्बरी, अंगार, हिम्मतवाला, सिक्का, आँखे, मे खिलाडी तु अनाडी, कुली नं १, साजन चले ससुराल, दुल्हे राजा लगातका चर्चित फिल्ममा काम गरिसकेका खानले करिब ३०० वटा फिल्ममा अभिनय गरिसकेका छन् भने हिन्दी र उर्दु गरी २५० फिल्मको डायलग पनि लेखेका छन् ।