स्वर्ण पदक विजेता महर्जनलाई बोलाएरै दिए प्रचण्डले बधाई
ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले शारीरिक सुगठनमा स्वर्ण पदक विजेता बनेका नेपाली खेलाडी(बडिवील्डर) महेश्वर महर्जनलाई बधाई दिनुभएको छ । अध्यक्ष प्रचण्डको निमन्त्रणामा प्रचण्ड निवास खुमलटारमा पुगेका महर्जनले हालै मात्र सम्पन्न विश्व शारीरिक सुगठनमा प्रतियोगितामा स्वर्ण पदक जितेका थिए ।
बधाई दिदै अध्यक्ष प्रचण्डले भन्नुभयो “तपाईले उत्कृष्ट कौशल देखाउनु भयो । यसबाट नेपाल र नेपालीको शीर गौरवले उच्च भएको छ । विश्वस्तरको प्रतियोगितामा नेपालका तर्फबाट तपाईको प्रस्तुतीले नेपाली खेलाडी पनी अब्बल सावित हुनसक्छन भन्ने प्रमाणित भएको छ ।
आफूले खेल क्षेत्रलाई सधैं प्राथमिकतामा राखेको भन्दै अध्यक्षले नेपालको समृद्धि र विकासमा खेल क्षेत्र र खेलाडीको ठूलो भूमिका रहने समेत बताउनु भयो । राष्ट्रिय एकता कायम गर्न र विश्वसामु नेपाललाई चिनाउन खेल क्षेत्रको ठूलो भूमिका रहेकाले पार्टी र सरकारका तर्फबाट शारीरिक सुगठन लगायतका खेल र समग्र खेल क्षत्रको विकास गर्न लागीपर्ने बताउनुभयो ।
खेलाडी महर्जनजले व्यक्तिगत लगानी र प्रयासमा ७५ किलो तौल समूहमा स्वर्ण पदक जितेका हुन । मिस्टर युनिभर्समा समेत सहभागी हुने ईच्छा रहेकाले राज्यका तर्फबाट सहयोगको वातावरण बनाईदिन महर्जनजले अध्यक्षलाई आग्रह गरेका छन । अध्यक्ष प्रचण्डले सरकार र पार्टीका तर्फबाट आवश्यक सहयोगका लागि पहल गर्ने बचन दिनुभएको छ ।