देश निर्माणमा वडा महाराजाधिराजको विशेष योगदानलाई बिर्सन हुदैन :रावल - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

देश निर्माणमा वडा महाराजाधिराजको विशेष योगदानलाई बिर्सन हुदैन :रावल



काठमाडौं । पृथ्वीनारायण शाहको २९७औैँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय एकता दिवस तथा २९७औँ पृथ्वीजयन्ती मूल समारोह समितिले आयोजना गरेको नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह विषयक विचार गोष्ठीमा विद्वान वक्ताले नयाँ नेपालको एकीकरणमा खेलेको भूमिकाबारे चर्चा गरेका छन ।

शनिबार राजधानीमा भएको गोष्ठिमा नेकपाका नेता तथा पूर्वमन्त्री भीम रावलले देशको निर्माणमा वडामहाराजाधिराजको विशेष योगदानलाई बिर्सन नहुने बताउँदै हामी सबै जातजाति मिलेर राष्ट्रिय हितलाई संरक्षण गर्नुपर्ने बताए ।

उनले स्वाभिमान भएको व्यक्तिले मात्र मुलुकको एकीकरण गर्न सक्षम हुने भन्दै पृथ्वीनारायण शाहमा त्यो स्वाभिमान प्रष्ट भएको चर्चा गरे ।

नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री डा रामशरण महतले नेपालको इतिहासमा पृथ्वीनारायण शाह सबैभन्दा महत्वपूर्ण सपुत भएको चर्चा गरे ।

उनले राजा यक्षमल्लले पनि नेपालको एकीकरण गरे पनि पछि आफ्नो तीन छोरालाई काठमाडौं, ललितपुर तथा भक्तपुर विभाजन गरिदिएका कारण नेपाल टुक्राटुक्रा राज्यमा परिणत भएको बताए ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले पृथ्वीनारायण शाहको नेपाल एकीकरणबाट चीन र भारतले पनि प्रेरणा हासिल गरेको बताउँदै पृथ्वीलाई आततायीको दृष्टिले हेर्न नहुने विचार व्यक्त गरे ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठले जापान, फ्रान्स, जर्मन, इटली, बेलायत आदि मुलुकले आफ्नो सीमा विस्तार गरिरहेका बेला नेपालले पनि आफ्नो सार्वभौम रक्षाका लागि सीमा विस्तार गर्नु महत्वपूर्ण कार्य भएको बताए ।

उनले पृथ्वीनारायण शाहले गरेको सीमा विस्तारलाई आफूले विस्तारवादीका रुपमा नभई एकीकरणका रुपमा स्वीकार गर्ने बताए ।

प्राध्यापक लालबाबु यादवले काठमाडौंका मल्ल राजाले पनि त्यसबेला तराईका चेलीबेटीसँग विवाहबारी गरेको प्रसङ्ग उल्लेख गर्दै ती राजाले काठमाडौंमा मैथली संस्कृति तथा साहित्यको विकास गर्न योगदान गरेको चर्चा गरे ।