ओली सरकार ढाल्ने सपना अहिले नसोचौं :थापा - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

ओली सरकार ढाल्ने सपना अहिले नसोचौं :थापा



काठमाडौं: नेपाली कांग्रेसका युवा नेता गगन थापाले केपी शर्मा ओली नेतृत्वको बलियो सरकार बरालिएको आरोप लगाएका छन् । आइतबार प्रथम चापाकोट महोत्सवको समापन समारोहमा बोल्दै उनले भने, ‘ओली नेतृत्वको सरकार काममा होइन, सपनाको चक्रव्यूहमा बरालिएको छ ।’ नेपाली जनता र प्रतिपक्षीले काम गर्ने अवसर र वातावरण दिँदा पनि सरकारले काम गर्न नसक्नुले ओलीको असक्षमता प्रष्ट देखिएको उनले बताए ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारमा कतै पनि प्रतिपक्षीले अवरोध नगर्दा पनि सरकारले काम गर्न नसक्नु दुई तिहाईको उपहास भएको उनको भनाई छ । ‘ओलीले सुखी नेपाली–समृद्ध नेपाल’ नाराले जनतालाई जुक्याइरहेका छन्’, उनले भने, ‘नारा केवल नारामा मात्र सीमित हुने देखियो ।’ जनतालाई सपनाको चाङ देखाउनुको सट्टा काम गरेर देखाउन उनले सरकारलाई चुनौती दिए । ओलीको समृद्ध नेपाल अभियानको दिवा सपना कुनै हालतमा पुरा नहुने उनले दाबी गरे ।

दुई तिहाईको बहुमत सरकार हुँदा पनि कुनै काम गर्न नसक्नुले देशमा जनता कांग्रेसको विकल्प खोजिसकेको उनको भनाई थियो । उनले भने, ‘सरकारसँग काम गर्ने मौका र अवसर थियो । अवसर छोप्न र काम गर्न सक्नुपथ्र्यो सकेन, गरेन ।’

देशको श्रमशक्ति विदेश बेचेर देश धनी र देशको समृद्धि नहुने उनले ठोकुवा गरे । देश विकासका लागि जलस्रोतमा लगानी होइन, विदेशिएका युवालाई देश फर्काउने र विदेशिन लागेका युवाहरुलाई रोकेर देशको समृद्धिको आन्दोलनमा परिचालन गर्न उनले आग्रह गरे । ‘पहिला युवा संघ, युथ फोर्स र वाइसिएलमा लागेका युवालाई देशको समृद्धिको आन्दोलनमा परिचालन गर्नुस् । उनीहरुलाई परिचालन गर्न सके हजुरले देखेको सपना पुरा हुन्छ कि !’ उनले व्यंग्य गरे ।

फरक प्रसंगमा नेता थापाले ओली सरकार तत्काल कसैले चाहँदैमा ढाल्न नसक्ने बताए । ‘सरकार जग बलियो छ । दुई तिहाई बहुमत छ’, उनले भने, ‘सरकार ढाल्ने सपना अहिले नसोचौं । बेला आएपछि जनताले ढाल्छन्।’ नेपाली काँग्रेस सरकार ढाल्न भन्दा सरकारले गरेका गलत कार्य र प्रवृत्तिलाई नागरिक सामु पुर्याउन लाग्नुपर्ने भन्दै उनले कायकर्तालाई आग्रह गरे । देशमा विस्तारै नागरिकमा कांग्रेसको अभाव महसुस हुन थालेकोले स्थानीय तहका नेता तथा कार्यकर्तालाई सरकारको काम कारबाहीप्रति सचेत र सजग रहन कार्यकर्तालाई उनले आग्रह गरे ।