यो कस्तो गणतन्त्र ? - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

यो कस्तो गणतन्त्र ?



डायमण्ड म्याग्देली

जनयुद्धका क्रममा घाइते/अपांग भएका केही योद्धाहरूको समूहले आफूहरूको  औषधिउपचार । जीवन निर्वाह भत्ता लगायतका आधारभूत मागहरूलाई लिएर केही समय अघि देखी राज्यका विभिन्न निकायहरूलाई घचघच्याइ रहेको कुरा वेला बखत सार्वजनिक भइरहेकै छ । यसै क्रममा पटक पटक आफ्ना मागहरूको बारेमा स्मरण गराई रहदां पनि वर्तमान राज्यका सम्बन्धित निकायले आफूहरूका आधारभूत मागहरूलाई सम्बोधन गर्नुको सत्ता पूर्ण रूपमा बेवास्ता गर्दै उल्टै धम्क्याउने र तिमीहरू मरे हुन्छ भन्ने खालको अति क्रूर र समवेदनाहिन अभिव्यक्ति गृहमन्त्रीका स्वकीय सचिववाट सुनेपछि आफूले त्यो अपमानलाई सहन नसकेर गृह मन्त्रालय मै विष सेवन गर्न बाध्य भएको कालिकोटका पूर्व जनमुक्ति सेनाका घाइते योद्धा कुलप्रसाद भट्टराईले केही दिन अघि मिडिया लाई बताएका थिए ।घटना लगत्तै उनलाई हस्पिटलमा लिई उपचार पश्चात् अहिले प्रहरी हिरासतमा राखिएको ।साथै उनलाई त्यसो गर्न उक्साएको आरोपमा अर्का एक जना योद्धालाई पनि प्रहरीले गिरफ्तार गरेको कुरा सार्वजनिक भएको छ । त्यही समूहका अन्य केही घाइते योद्धाहरू विगत ५ दिन देखी आफ्ना आधारभूत माग सहित यो पौष महिनाको कठ्याङ्ग्रिन चिसोमा माइतीघर मण्डला को खुल्ला आकाशमुनि अनशनरत छन् ।

यी त भए केही प्रतिनिधिमूलक घटना र पात्रहरू ।तत्कालीन अवस्थामा विद्यमान सामन्ती राज्यसत्ताको अन्त्य गरी जनताको जनवादी राज्यसत्ता स्थापना गर्ने महान् उदेश्यसहित सञ्चालित जनयुद्धमा नि:स्वार्थ रूपले सहभागी हुने क्रममा यी माथि उल्लिखित पात्रहरू जस्तै शरीर अङ्ग/भङ्ग भएका बमको धमाकाले मानसिक अवस्था बिग्रेका तथा शरीर भरी बमका छर्रा र गोली बोकेर बाच्न विवश अन्य हजारौँको सङ्ख्यामा रहेका घाइते योद्धाहरूको अवस्था आज कति दर्दनाक र कष्टकर छ भन्ने कुरा अनुमान गर्न कुनै कठिनाइ छैन ।

ती जनयुद्धका घाइते योद्धाहरूले भोगिरहेको शारीरिक तथा मानसिक पिडा त आफ्नो ठाउँमा छदैछ त्यसैमाथि हिजो जनयुद्धमा लाग्न प्रोत्साहन गर्ने नेतृत्व पङ्क्तिले आज उनीहरूको दु:ख/पिडामा सकेजति साथ/सहयोग गर्दै । मलमपट्टि  गर्नुको सत्ता उल्टो अपमान गर्ने,आफै वल्झिरहेको घाउलाई कोट्याएर नुन चुक छर्कने खालको व्यवहार र अभिव्यक्ति दिएर हिजो नि:स्वार्थ रूपमा निष्ठापूर्वक आन्दोलनमा लागेर रगत बगाएका आफ्नो शरीरका महत्त्वपूर्ण अङ्ग गुमाएका,अझै शरीर भरी गोली/छर्रा बोकेर छटपटाई रहेका बम/गोलीले चुँडिएका आफ्ना हात/गोडा लतार्दै न्यूनतम मानवीय न्यायको अपेक्षासहित सङ्घर्षरत योद्धाहरूलाई यस्तो घाटक र अप्रिय निर्णय लिन बाध्य पार्ने विषय अत्यन्त खेदजनक छ ।

लेखक म्याग्देली

जनयुद्धका समग्र मूल्य ,मान्यता र सपनाहरू त प्रचण्ड ,बाबुराम ,बादल लगायत केही सीमित समूहले आफ्नो निहित स्वार्थ र कुर्चीको लागी लिलाम गरिसकेको विषय सर्व विदितै छ । त्यसबारेमा अव धेरै भन्नु छैन,किनकि तिनको आज वर्ग बदलिएको छ । विचार व्यवहार र दृष्टिकोण बदलिएको छ। उद्देश्य र गन्तव्य फेरिएको छ।हिजो तिनको एक आदेशमा लड्न बलिदान गर्न हाम्फाल्ने। तिनको सुरक्षाको निमित्त छातीमा सँगिनी/गोली थाप्ने हजारौँ ईमान्दार योद्धाहरू आज तिनलाई दुस्मन जस्तो लाग्छ तर हिजो तिनीहरूको टाउकोको मूल्य टोक्ने हरू.सी.आई.डी/सुराकी गर्ने हरू.जनयुद्ध गणतन्त्र र आमूल परिवर्तनको विरुद्ध विष बमन गर्नेहरू आज तिनका अति प्रिय र भरपर्दो सहयात्री बनिरहेका छन् । त्यसैले जनयुद्ध का उद्देश्य र मूल्य/मान्यताको कुरा सुन्ने र सामना गर्न सक्ने वैचारिक र नैतिक सामर्थ्य अव तिनीहरूमा विल्कुल वाकीं छैन तथापि अहिले जसरी तिनीहरू सत्ता र शक्तिमा छन् त्यसको आधारमा मानवीय भावनाको हिसाबले ती घाइते योद्धाहरूको आधारभूत मागहरूको सम्बोधन हुने आशा कतै न कतै जीवित थियो होला.त्यसैले ती योद्धाहरू तिनको अगाडी याचना गर्न पुगे यति माग राख्न पाउने अधिकार उनीहरूमा थियो किनकि उनीहरू जनयुद्धमा लागेर योगदान गर्नु , रगत बगाउनु ,अङ्ग गुमाउनु कुनै रहर र अपराध थिएन.तर उतिवेला युद्धमा सहभागी गराउने र अहिले सत्ता र शक्तिमा रहेका हरूले त्यति सम्म बुझ्न कष्ट नगर्नु घोर आपत्तिजनक र असह्य छ ।

जनयुद्धमा सहभागी हुन उक्साउने मुख्य पात्र प्रचण्ड, बाबुराम ,बादल लगायत अन्य पात्रहरू अनन्त:पासाङ,प्रभाकर लगायत धेरैजसो हाल विद्यमान सत्ता र शक्तिको वरिपरि छन् यिनकै पार्टीको नेतृत्वमा २/३ को सरकार छ । त्यसैले चाहेको खण्डमा घाइते योद्धाहरूको आधारभूत मागलाई सम्बोधन गर्ने विषय अति सामान्य छ तर त्यतातिर यिनको चासो विल्कुल देखिँदैन। यिनको चिन्ता/चासो अव आफू/आफ्नो परिवार नातेदार र सीमित समूहमा मात्र केन्द्रित भएको छ ।त्यसैले यिनीहरूबाट आशाको भ्रम पालिराख्नु पनि अर्थहिन देखिन्छ ।बरु गणतन्त्र र परिवर्तनको लागी कुनै खास योगदान नगरेकी सुजाता कोइरालाहरू जस्ताको उपचारको लागी पचासौ लाख निकासा गर्न कुनै आनाकानी नगर्ने जनयुद्ध,गणतन्त्र र आमूल परिवर्तन प्रति खास सकारात्मक भूमिका नरहे पनि कसैको निगाहले राष्ट्रपति हुने अवसर प्राप्त गरेकी र आज नव बडामहारानीको अवतारको रूपमा प्रकट हुन थालेकी राष्ट्रपति महोदयको सुविधाको लागी १८ करोडको गाडी १अर्व ५० करोडको हेलिकप्टर लगायत अन्य अथाह सेवा सुविधा दिलाउन पाउँदा स्वर्गिय आनन्द महसुस गर्ने अवस्थामा पुगेका यी नवधनाढ्य वर्गमा रुपान्तरित अरवपति प्रचण्ड मण्डलीबाट जनयुद्धमा योगदान गर्ने ,रगत बगाउने र अङ्ग/भङ्ग हुने योद्धाहरूले अव के आशा गर्ने ।

अन्तमा यो देश कसैको बिर्ता हैन ,देशको ढुकुटी कसैको बाउले दिएको दाइजो हैन,यहाँ सम्मको परिवर्तन र गणतन्त्र उखान/टुक्का छाँटेको भरमा आएको हैन। न त विगतमा जिब्रो खुइलिने गरी माओवादीलाई गाली-गलौज र सत्तो सराप गरेर नै आएको हो  न त राजा/महाराजा हरूलाई बिन्ती पत्रसहित पाउमा दाम राख्दै ढोग/दर्शन गरेर आएको हो । यो गणतन्त्र र परिवर्तनको लागी माओवादी जनयुद्ध ,त्यसक्रममा दसौँ हजारको बलिदान ,हजारौँ बेपत्ता,घाइते/अपांग र लाखौँ कार्यकर्ता र जनताको नि:स्वार्थ त्याग,समर्पण र योगदानको महत्त्वपूर्ण भूमिका छ ।त्यसैले परिवर्तनको निमित्त अग्रिम मोर्चामा डटेर गोली थाप्ने योद्धाहरू आज जसरी त्यै चोटग्रस्त घाइते शरीरको उपचार गर्ने आफ्नो हैसियत नहुन्जेल र गणतान्त्रिक राज्य ,त्यसअन्तर्गत पूर्व माओवादी मिश्रित वाम नामको सरकारले बेवास्ता गर्दा विष सेवन गर्नुपर्ने र अनशन बस्नु पर्ने अवस्था सिर्जना भएको छ । यो अत्यन्त खेदपूर्ण र आपत्तिजनक छ ।आधारभूत अधिकारको माग गर्दा विप्लवको कार्यकर्ता देखेर पुर्वाग्रही व्यवहार गर्ने । धाक/धम्की र दमनको भाषा बोल्ने सत्तादारीहरूको यस्तै रवैयाले आम शोषित-पीडित वर्ग ,जनसमुदाय र योद्धाहरूलाई विप्लव बन्न झनै प्रेरित गर्ने छ। एकीकृत जनक्रान्तिलाई अझै मजबुत र फराकिलो पार्दै गन्तव्यलाई सफलातापुर्वक चुम्ने अवसर संकट  आउने निश्चित छ ।