देउवा–पौडेल समूहबीच घम्साघम्सी
काठमाडौं। नेपाली कांग्रेसमा पदाधिकारीको संख्यामा विवाद अन्त्यको चरणमा पुगेको छ । नेताहरूका बीच निर्वाचन प्रक्रियालाई लिएर विवाद रहेको छ ।
सभापति शेरबहादुर देउवाले सहमतिमा विधान मस्यौदाको प्रतावालई महासमिति बैठकमा लैजाने तयारी गरेका छन । तर, वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवाको योजनामा अबरोध गरेको आरोप छ ।
कांग्रेसमा पदाधिकारी कति राख्ने भन्नेमा सहमतिनिकट पुगे पनि त्यसको निर्वाचन पद्धतिलाई लिएर कांग्रेसभित्र विवाद बढेको एक नेताले बताए ।
कांग्रेको महासमिति बैठक आजदेखि काठमाडौंको रामशहापथस्थित एक पार्टी प्यालेसमा शुरु हुँदैछ ।
पदाधिकारीको संख्यामा सहमतिनिकट आएको नेताहरूले बताएका छन । निर्वाचन पद्धतिमा मनोनयन गर्न पाउनुपर्छ भन्ने संस्थापनपक्षको अडानका कारण शुक्रबार सहमति हुन नसकेको पौडेल समूहको भनाइ छ ।
महामन्त्री डा.शशांक कोइरालाले सभापति, २ उपसभापति, ३ महामन्त्री, ४ सहमहामन्त्री र कोषाध्यक्षसहित ११ सदस्यीय पदाधिकारीको प्रस्ताव ल्याएका छन ।
महामन्त्री डा.कोइरालाको प्रस्तावमा सभापति देउवाले सभापति, दुई उपसभापति, दुई महामन्त्री, दुई सहमहामन्त्री र कोषाध्यक्षसहित ८ सदस्यमा सहमति गर्न प्रस्ताव गरेका छन ।
वरिष्ठ नेता पौडेलले सात प्रदेश हेर्ने गरी ७ उपसभापति या ७ सहमहामन्त्री राख्ने प्रस्तावसमेत गरेका थिए ।
कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सबै पदाधिकारीको निर्वाचन नमान्ने अवस्था बनेमा देउवा समूहविरुद्ध छुट्टै प्रस्ताव महासमितिको बैठकमा लैजाने चेतावनी दिए ।
प्रस्ताव जाँदा केन्द्रीय कार्यसमितिको आकार, पदाधिकारी संख्या र निर्वाचन पद्धति, प्रस्तावना, विशेष परिस्थितिको व्यवस्था, केन्द्रीय सदस्य महाधिवेशन प्रतिनिधि हुन वडाबाटै निर्वाचित भएर आउनुपर्ने, विशेष परिस्थितिको व्याख्या सहमति या दुई तिहाइ मतको समर्थनबाट हुनुपर्ने व्यवस्थासहितको अलग्गै प्रस्ताव जाने केसीले बताएका छन ।