घरमै नक्कली नागरिकता, पासपोर्ट बनाउने जनकपुरबाट ४ जना पक्राउ - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

घरमै नक्कली नागरिकता, पासपोर्ट बनाउने जनकपुरबाट ४ जना पक्राउ



आलोक यादव /धनुषा

घरमै जिल्ला प्रशासन कार्यालय सञ्चालन गरेर नक्कली नागरिकता, राहदानी लगायत बनाइदिने गिरोह ठुलो परिमाणमा कागजात सहित प्रहरीको फन्दामा परेका छन् । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय धनुषाका एक कर्मचारी समेत छन् ।

पक्राउ पर्नेहरुमा जनकपुर उपमहानगरपालिका ४ बस्ने तथा जिल्ला प्रशासन कार्याय धनुषाका कार्यालय सहयोगी ४२ वर्षका महावीर मण्डल, जनकपुर उपमहानगरपालिका २० बस्ने देउरा रुपैठा बस्ने वर्ष ३१ का रोशनकुमार चौधरी, रौतहटको दुर्गाभगवती गाउँपालिका ४ घर भइ हाल जनकपुर उपमहानगरपालिका ४ बस्ने हेमन्तकुमार पाण्डे र धनुषाको औरही गाउँपालिका ५ का वडा सदस्य समेत रहेका ४९ वर्षका गंगा साह छन् ।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार पत्रकार सम्मेलन गरी सप्रमाण सार्वजनि गरेको छ । बिहीबार अपराहन्न ४ बजे जनकपुर उपमहानगरपालिका २० देउरा रुपैठाका रोशन चौधरीले डेरा लिएर बसेको कोठामा सुराकीको आधारमा खानतलासी गर्दा नक्कली नागरिकता, राहदानी, विवाहदर्ता, मृत्युदर्ता, बसाइसराईको कागज, जिल्ला प्रशासन कार्यालयमा प्रयोग हुने सबै स्टाम्प, लेटरप्याड, विभिन्न व्यक्तिको तयार गरेको नागरिकता, फोटो, नागरिकता अनुसूचीको फारम लगायत बरामद भएको पत्रकार सम्मेलनमा धनुषाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र साहीले बताउनुभयो ।

सम्पूर्ण कागजात सहित नगद १ लाख ५३ हजार रुपैयाँ समेत उनीहरुको साथबाट बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि शुक्रबार जिल्ला अदालत धनुषामा सरकारी दस्तखत छाप किर्ते र नागरिकता मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ । पत्रकार सम्मेलनमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कडेंल नक्कली नागरिकता, राहदानी लगायतको कागजात तयार गराउने व्यक्तिहरु समेत कार्वाहीको दायरामा आउने बताउनुभयो । अनुसन्धानको क्रममा यस कार्यमा संलग्न जिल्ला प्रशासन कार्यालयका कर्मचारी र अन्य व्यक्तिहरु समेत पाइए कडा कार्वाहीको भागिदार हुने प्रमुख जिल्ला अधिकारी कडेंलको भनाई छ ।