सरकारी खर्चमा खप्तड छान्ना गाउँपालिकाका जनप्रतिनिधिको मस्ती,जनतालाई सास्ती - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

सरकारी खर्चमा खप्तड छान्ना गाउँपालिकाका जनप्रतिनिधिको मस्ती,जनतालाई सास्ती



बझाङ – बझाङ जिल्ला अन्तर्गत खप्तड छान्ना गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सरकारी खर्चमा नेपालका प्रत्येक ठाउँ भ्रमणमा गएका छन् ।गाउँपालिकाका अध्यक्ष वर्क बहादुर रोकायाको नेतृत्वमा कृषि भ्रमण टोली भनेर ५० देखी ५५ लाख छुट्याएर भ्रमणमा निस्केका हुन् ।

गाउँपालिकाकाका प्रमुख,उपप्रमुख,वडाअध्यक्षहरु,सदस्यहरू, र प्रमुख प्रशासकीय अधिकृतदेखि कार्यालय सहयोगीसम्मका कर्मचारी, शिक्षक सहित ४५ जनाको जम्बो टोली मङ्सिर १२ गतेदेखि १० दिने अवलोकन भ्रमणमा पूर्वी नेपालमा निस्केका हुन् ।

गाउँपालिका कार्यालयमा अध्यक्षलगायत कर्मचारी नहुँदा निराश भएर फर्कन बाध्य भएको एक सेवाग्राहीले बताए । ‘अध्यक्ष, उपाध्यक्षसहित सबै कर्मचारी मङ्सिर १२ गते देखि भ्रमणमा गएकाले त्यही दिनदेखि कार्यालय बन्द छ’, उनले भने, ‘हरेक दिन १५/२० जना मान्छे काम लिएर आउँछन्, तर कार्यालयमा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत नभएको देखेपछि निराश भएर फर्कन्छन् ।’ त्यस्तै अर्का एक स्थानीयले वडामा वडा अध्यक्ष नहुँदा एक दिनमा बन्ने काम अव एक महिना लाग्ने हो भनेर चिन्तित भएर भने ।

स्थानीय अर्का सेवाग्राहीले भने, यसरी गाउँपालिकाको कामलाई नै प्रभावित बनाएर अध्यक्ष, उपाध्यक्षसहित अधिकांश कर्मचारी एकै पटक जिल्ला बाहिर भ्रमणमा जानु गलत भएको बताए ।जनप्रतिनिधिहरू कृषि अवलोकन भ्रमण भनेर नारायणहिटी दरबार,लुम्बिनी,पोखरा फेवा ताल,दार्जिलिङ,लगायतका अन्य स्थानमा भ्रमण गरेका फोटाहरू जनप्रतिनिधिले आफ्नो फेसबुक वालमा पोस्ट गरेपछि सामाजिक सञ्जालमा यो विषयले चर्चा पाएको छ ।

भूमिराज पिठातोलीले आफ्नो फेसबुकमा स्टाटस लेखेका छन् ।हाम्रो खप्तड छान्ना गाउँपालिकाका जनप्रतिनिधिहरू त ५५ लाखको भ्रमण गर्दछन् रेत ? हामीले जम्मा भएको ढुकुटी रित्याउन त पठाएका होइनौँ ? वा क्या मजा छ है भ्रमणको नाम पनि कृषि रे जनताको पसिनाको मूल्यमाथि जनप्रतिनिधि र टाठाबाठा भनाउँदाको मोजमस्ति ? के हो त्यो भ्रमणको उद्देश्य भनेर लेखेका छन् । र अहिले यो सामाजिक सञ्जालमा भाइरल भइराखेको छ ।

समाजसेवी माईकल क्षेत्रीले भने, गाउँपालिकाले स्थानीय जनतालाई प्रदान गर्ने सेवा सुविधा र कामको सम्बन्धमा यो भ्रमणको कुनै अर्थ समेत छैन । विकासको बजेट काटेर जनताले चुनेका जनप्रतिनिधि र जनताले तिरेकै करबाट तलब भत्ता बुझ्ने कर्मचारीले मनोमानी रूपमा व्यक्तिगत प्रभाव बढाउन र सेल्फी खिच्नकै लागि बजेटको दुरुपयोग गर्नु भनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रकै उपहास हो । सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्‍याएको विकासका लागि हो । तर यहाँ जनप्रतिनिधिहरूको हवाला दिँदै कर्मचारीहरूले आफ्ना लाभको प्रयोजनको लागि निरर्थक भ्रमणमा जनताले तिरेको करको दुरुपयोग गर्नु अन्यन्तै निन्दनीय कार्य हो ।

कृषि अवलोकनमा आएको टोलीसँग शिक्षक,डाक्टर,व्यापारी लगायको पारिवारिक भ्रमण जस्तो देखिन्छ । यो रवैया किन ? केका लागी ? कसका लागी ? हामी जनतालाई यसको उत्तर चाहियो ? भनेर उनले प्रश्न समेत गरेका छन् ।