कपडा व्यवसायीमाथि खुकुरी प्रहार

काठमाडौं। काठमाडौंको तिलगंगामा कपडा व्यवसायीमाथि खुकुरी प्रहार भएको छ । गौशाला बस्दै आएकी सर्लाहीको हरिवन घर भएकी ३० वर्षीया प्रमिला वाग्लेमाथि खुकुरी प्रहार भएको हो ।
खुकुरी प्रहार घटनामा संलग्न भएको आरोपमा भारतीय नागरिक (१८ वर्ष) आनन्द कुमारलाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी वृत्त, गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल मल्लले जानकारी दिए ।
सोमबार दिउँसो वाग्लेमाथि खुकुरी प्रहार भएलगत्तै उनलाई ओम अस्पताल लगिएको थियो । त्यहाँ उनको उपचार जारी छ । ‘अहिले उहाँ खतरामुक्त हुनुहुन्छ’, डीएसपी मल्लले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’
प्रहरीले अहिलेसम्म वाग्लेमाथि किन खुकुरी प्रहार भयो भन्ने पत्ता लगाउन सकेको छैन । पक्राउ परेका भारतीय नागरिकले पनि पटकपटक बयान फेरिरहेका छन् ।

