नारायणी नदीमा सबैभन्दा पहिले पानी जहाज ल्याउने प्रचण्डको ठोकुवा
नवलपरासी — नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना कोसेढुंगा साबित भएको बताएका छन् । यही मंसिर ११ गते सरकारले घोषणा गरेको सामाजिक सुरक्षा योजना दूरगामी र ऐतिहासिक निर्णय भएको उनको भनाइ थियो ।
त्रिभुवन बालमावि कावासोतीको स्वर्ण महोत्सव उद्घाटनमा शुक्रबार अध्यक्ष दाहालले सरकारले ढिलै भएपनि गति लिएको भन्दै अब कसैले चाहेर पनि मुलुकको विकास नरोकिने ठोकुवा गरे । उनले प्रतिक्रियावादीले जहिले पनि कम्युनिष्टहरुविरुद्ध भ्रम छरिरहेको भन्दै अब दुई छिमेकीसँगको साथ र सहयोगबाट मुलुकलाई नयाँ गतिदिने बताए ।
‘उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतसँगको सम्बन्ध नयाँ शिराबाट मजबुद बन्दै गएको छ, अब विकासले गति लिनेमा कुनै शंका नगर्नु होस्’ उनले भने, ‘जहिले पनि प्रतिक्रियावादिहरुले हामीविरुद्ध भ्रम छरिरहेका छन्, संविधान जारी गर्ने बेलामा होस् अथवा दुई पार्टी बीचको एकता प्रक्रियामा होस् या त तीनै तहका चुनावमा किन नहोस् कम्युनिष्टलाई असफल बनाउन लागीपरे तर त्यो पूरा हुन सकेन ।’
दाहालले नवलपुर र आफू निर्वाचित पश्चिम चितवनलाई जोडेर यस क्षेत्रको गुणात्मक परिवर्तन ल्याउन प्रतिबद्ध रहेको बताए । उनले नारायणीमा ३ वटा नयाँ पुलको आवश्यकता महसुस गरिएको र नारायणी नदीमा सबैभन्दा पहिले पानी जहाज ल्याएर छाड्ने ठोकुवासमेत गरे । भूमिगत अवस्थामा आफू पूर्णकालीन सदस्य भएपछि पहिलो कार्यक्षेत्र नवलपरासी नै रहेको खुलासा गर्दै यस क्षेत्रको विकासमा आफूले कुनै कसर बाँकी नराख्ने उद्घोष दोहोर्याए ।
दाहालले सरकारले चुनावमा गरेका सबै प्रतिबद्धताहरु ५ वर्षभित्र पूरा गरेरै छाड्ने स्पष्ट पारे । उनले भने, ‘सोचेजस्तो काम गर्न सकिरहेका त छैनौं तर ५ वर्षभित्र हामीले चुनावमा गरेका सबै प्रतिबद्धता पूरा गर्छौं ।’ यसवर्ष वृद्धभत्ता बढाउन नसक्दा दु:ख लागेको बताउँदै उनले आगामी वर्षको बजेटमा त्यसको व्याजसहित वृद्धभत्ता उपलब्ध गराउने आश्वासन दिए ।
अध्यक्ष दाहालले शिक्षा क्षेत्रमा निजीकरण र व्यापारीकरणको रोग लागेको भन्दै पछिल्लो समय सामुदायिक विद्यालयमा आकर्षण बढ्दै गएको चर्चा गरे । शिक्षाको गुणस्तर वृद्धिका लागि सरकार कटिबद्ध भएर लाग्ने उनले उल्लेख गरे ।