शाहरुख खानको सेटमा आगलागी - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

शाहरुख खानको सेटमा आगलागी



काठमाडाैं– शाहरुख खान अभिनित फिल्म ‘जिरो’ को सेटमा आगो लागेको छ। फिल्म सुटिङका लागि तयार पारिएको सेटमा बिहीबार साँझ आगो लागेको भारतीय प्रहरीले जनाएको छ।

मुम्बईस्थित फिल्म सिटीमा रहेको सेटमा आगो लाग्दा फिल्मका मुख्य अभिनेता शाहरुख घटनास्थलमै रहेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

‘आगलागी हुँदा अभिनेता शाहरुख पनि घटनास्थलमै थिए, आगो लाग्न थालेपछि उनी त्यहाँबाट बाहिरिए,’ भारतीय प्रहरीका उपायुक्त विनय राठौडले बताए, ‘तर घटनामा कुनै मानवीय क्षति भने हुन पाएन।’

के कारणले फिल्म सेटमा आगो लाग्यो भन्ने विषय पत्ता लाग्न नसकेको बताइएको छ।

राठौडका अनुसार बिजुलीको तार, बिजुलीबाट चल्ने उपकरण, लाइट, सुटिङका सामान र पर्दामा आगो लागेको थियो।

सुटिङ सेटबाट धुँवाको मुस्लो निस्किएपछि घटनास्थलमा अग्निनियन्त्रक पठाइएको थियो। फिल्म ‘जिरो’ २१ डिसेम्बरमा रिलिज हुने बताइएको छ।