प्रम ओलीको तस्बिर बिजुलीको पोलमा झुण्डाउदैमा नयाँ युगको थालनी हुँदैन । - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

प्रम ओलीको तस्बिर बिजुलीको पोलमा झुण्डाउदैमा नयाँ युगको थालनी हुँदैन ।



कर्ण अधिकारी, मकाउ चीन।

दुई तीन दिन भो सामाजिक सुरक्षा योजनाको नाममा करोडौँ रुपैयाँ खर्च गरेर प्रम केपी ओलीको बिजुलीको पोलमा झुण्डाईएका तस्बिरहरूले सामाजिक सञ्जाल फेसबुकको भित्ता रङ्गिएको।अनुहार पुस्तिकाको भित्ताहरूमा एक नयाँ युगको थालनी भन्ने महान् वाणीको साथ प्रम ओलीको टाँसिएको तस्बिरको विषयमा राम्रा नराम्रा प्रतिक्रियाहरू आउन थाली सकेको छ।

खै किन हो कुन्नि मलाई पनि केही न केही लेखौँ लेखौँ जस्तो लाग्यो र मन नै थाम्न सकिएन लेख्न सुरु गरे।हामी नेपालीहरूको बानी नै नराम्रो हामीहरू विगतका कुराहरूलाई चाँडै नै बिर्सि हाल्छौ।विगतमा गरेका कुरालाई बिर्सिएर वर्तमानमा रमाउने प्रवृत्तिका कारण आज देशकै ढुकुटी सकी सकी प्रम ओलीको तस्बिर सिंहदरबारमा मात्र सीमित नगराएर सरकारको मातहतमा रहेका रेडियो,टिभी पत्र पत्रिकामा विज्ञापन गर्ने देखि लिएर सडक किनाराको बिजुलीको खम्बाहरूमा समेत नयाँ युगको थालनी भन्दै टाँसिनुले सरकारले देश र जनता माथि गर्ने गराउने व्यवहार प्रस्ट देखिएको छ।अझै पनि नेपाली जनतालाई भेडा सोचेर भेडा नै देख्नु उचित नहोला की त ?

आज मलाई भने विगतको एकदमै याद आयो कुरा प्रम ओली प्रधानमन्त्री भए पश्चात् जनता माझ सार्वजनिक रूपमा दिएको अभिव्यक्तिको।उनी भाषण दिँदै थिए म प्रम बनेको सिंहदरबारमा मात्र फोटो झुण्डाउनका लागि होइन म त जनताको काम गर्ने मान्छे म जनताको मन भित्र झुण्डिएर बस्न चाहन्छु र गरेर देखाउँछु तर आज प्रम ओलीले बोलेका कुरा साकार भएको छ उनी सिंहदरबारमा मात्र सीमित नभएर जनताको मनमा झुण्डिनुको साटो सडक किनाराको बिजुलीको खम्बामा झुण्डिन सफल भएको छ।खासै यिनी प्रम भए पछि देशमा ठुला ठुला काण्ड भए जसको परिणाम सकारात्मक आउनुको साटो नकारात्मक आउन थाल्यो।नेपाली जनतालाई सरकार छ की छैन भन्ने आभास भएकै कारण आज देशमा सरकार छ भन्न देखाउनका लागि कमरेडहरूले बिजुलीको खम्बामा प्रम ओलीको तस्बिर झुण्डाउन सफल भए।

ओली सरकारले ३३ किलो सुन प्रकरण,निर्मला हत्या प्रकरण,वाइड बडी जहाज खरिद बिक्री प्रकरणमा खासै उपलब्धि मूलक कार्य गर्न नसकेको अवस्थामा सडक किनारामा एउटा नयाँ युगको थालनी भन्दै प्रम ओलीको तस्बिर टाँसिनुले कुनै अर्थ राख्दैन।विगतमा राणा शासकहरूले निरङ्कुश र तानाशाह प्रवृत्ति अवलम्बन गरे झैँ वर्तमान अवस्थामा प्रम ओलीबाट यस्तै प्रवृत्ति देखिनु दुर्भाग्य पूर्ण कुरा हो।आफूलाई नै राजा महाराजा हुँ भन्ने घमण्ड छ भने जनताले जिताएर पठाएको स्थानबाट भूईमा झार्न केही समय लाग्ने छैन।जनताले चाहने हो भने क्षण भरमै काया पलट हुन सक्छ।ओली सरकारले जनताको आँखामा छारो हाल्ने काम गरेको छ।यो सरकारको काम कार्बाहीले जनतामा सन्तुष्टि छैन।चुनाव ताका जनता नै जनार्दन हुन भन्ने कम्युनिस्टहरूले आज जनतालाई भेडो बनाएको देख्दा चाहिँ अचम्मित भएको छु।विकास निर्माणका कुराहरू द्रुत गतिमा अगाडी बढ्न सकेको छैन।हत्या,हिंसा,बलात्कार र भ्रष्ट्राचारले चरम सीमा नाघेको अवस्थामा सरकार देशमा छैन भन्ने आभास भएको छ अब तपाईँ नै भन्नु होस यही हो त नयाँ युगको थालनी ?

नेपाल सरकारले सामाजिक सुरक्षा योजनाको नाममा नयाँ युगको थालनी भनेर प्रचार प्रसार गर्नुको कुनै औचित्य छैन।यो योजना विक्रम संवत् २०६६ साल देखि नै परिमार्जित हुँदै आएको विषय बस्तु हो।यसलाई हामीले सकारात्मक लिनु पर्छ तर नयाँ युगको थालनी भन्न चाहिँ पक्कै नमिल्ला।युग भनेको एक आयामिक कुरा मात्रै होइन युग भित्र बहु आयामिक गुणात्मकको परिवर्तित सँघार हो तसर्थ यसै कुरालाई हाईलाईट गर्दै केपी ओलीको तस्बिर बिजुलीको पोल भित्तामा राख्नुले कुनै अर्थ राख्दैन।चम्किलो चिजलाई प्रकाश दिनु पर्दैन जुन चम्कँदैन त्यसलाई प्रकाश दिने हो तसर्थ कमरेड हरूलाई यस्ता कुराको ख्याल होस्।यदि नेपाल सरकारले देश र जनताको हितमा राम्रो काम गरेको भए यसरी भित्ता भित्तामा तस्बिर टाँस्नु पर्ने आवश्यकता नै छैन।