कांग्रेस नयाँ विधान: १४१ जनाको केन्द्रीय समिति सहित यस्तो छ प्रस्ताव ! - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

कांग्रेस नयाँ विधान: १४१ जनाको केन्द्रीय समिति सहित यस्तो छ प्रस्ताव !



नेपाली कांग्रेसको विधान बनाउन गठित मस्यौदा समितिले विधानमा आएका फरक मतसहितको प्रस्तावित मस्यौदाको प्रतिवेदन पार्टीलाई बुझाएको छ ।
आइतबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा विधान संशोधन मस्यौदा समितिका संयोजकसमेत रहेका महामन्त्री पूर्णबहादुर खड्काले विधान मस्यौदाको प्रतिवेदन फरक मतसहित बुझाएका हुन् ।

कांग्रेस विधानमा पदाधिकारी संख्या, पदाधिकारीको चयन प्रक्रिया, संसदीय समितिको चयन प्रक्रिया, सदस्यता र विशेष अवस्थाको व्याख्याका विषयमा नेताबीच फरक मत रहँदै आएको छ । यस्तै, सभापतिले मनोनीत गर्ने सदस्य र मनोनीत पदाधिकारीका विषयमा समेत विधानमा फरक मत आएको छ ।

विधान मस्यौदामा समितिका तीन जना सदस्यले फरक मत राखेका छन् । मस्यौदा समितिले विधान मस्यौदा सर्वसम्मत रूपमा पारित गर्न नसकेपछि विकल्पसहित केन्द्रीय समितिमा आएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

‘विधान मस्यौदा समितिले विधानमा सहमति जुटाएर ल्याउन सकेन, फरक मतसहितको विधान केन्द्रीय समितिमा आयो । अब अध्ययनपश्चात् विधान पारित गर्ने प्रक्रियातर्फ जान्छ,’ ती केन्द्रीय सदस्यले भने ।

विधानको मस्यौदामाथि फरक मत राख्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेल तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकटका समितिका सदस्य छन् ।
करिब तीन महिना लगाएर मस्यौदा समितिले तयार पारेको विधान मस्यौदालाई अन्तिम टुंगो लगाउन छलफलका लागि केन्द्रीय कार्यसमितिमा पेस गरिएको हो ।
मस्यौदा समितिका सदस्य नवीन्द्रराज जोशी, मिनेन्द्र रिजाल र प्रदीप पौडेलले केन्द्रीय समिति बैठकमा पेस गरिएको विधान मस्यौदामा विकल्पसहितको फरक मत राखेका हुन् ।

उनीहरूले विधानको प्रस्तावना नै लामो भएको भन्दै छोटो हुनुपर्ने माग गरेका छन् । यस्तै, पदाधिकारीका विषयमा समेत विधानमा फरक फरक प्रस्ताव आएको छ । पदाधिकारी बढाउने र हालकै राख्ने गरी प्रस्ताव आएको हो । यस्तै, केन्द्रीय समितिको संख्या बढाएर १४१ बनाउने प्रस्ताव छ । हाल कांग्रेस केन्द्रीय समिति विधानमा ८५ सदस्य रहने व्यवस्था छ ।

समितिका सदस्य जोशीले केन्द्रीय समितिको संख्या र पदाधिकारी संख्या बढाउन विकल्पसहितको प्रस्ताव राखिएको बताए ।
‘हामीले केन्द्रीय समितिको संख्या र पदाधिकारी संख्या बढाउन विकल्पसहितको प्रस्ताव गरेका हौं,’ जोशीले राजधानीसँग भने ।
उनले पदाधिकारीको संख्या बढाएर ११ पु¥याउनुपर्ने मत राखिएको जनाए । कांग्रेसको पुरानो विधानमा भने सभापतिसहित ६ जना पदाधिकारी रहने व्यवस्था छ ।
हालको संख्याबाट बढाएर एक सभापति, तीन उपसभापति, तीन महामन्त्री, तीन सहमहामन्त्री र एक कोषाध्यक्षको प्रस्ताव गरिएको उनले जानकारी दिए । सबै पदाधिकारी निर्वाचनमार्फत चयन गरिनुपर्ने उनको प्रस्ताव छ ।

यस्तै, अर्को विकल्पमा सबै प्रदेशमा एक–एक जना उपसभापति र एक–एक सहमहामन्त्रीको प्रस्तावसमेत आएको छ । यस्तै, पदाधिकारी निर्वाचित र मनोनीत दुबै प्रस्ताव आएका छन् । पदाधिकारीमा कम्तीमा एक जना महिला हुनैपर्ने मतसमेत आएको छ । यस्तै, कोषाध्यक्ष निर्वाचित गर्ने वा मनोनीत गर्ने भन्नेमा समेत विकल्प आएका छन् भने सहमहामन्त्रीसमेत निर्वाचनमार्फत वा मनोनीत हुनुपर्ने समेत विकल्पको प्रस्ताव छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निकट विधान समितिका सदस्य फरमुल्लाह मन्सुरले समेत केन्द्रीय समिति संख्या बढाउने गरी प्रस्ताव आएको जनाए ।
उनले ३३ प्रतिशत महिलाको आरक्षणसहित संविधानले व्यवस्था गरेको विभिन्न क्लस्टरलाई आरक्षणको व्यवस्था गर्दा कार्यसमितिको संख्या बढ्ने बताए ।
पदाधिकारीको संख्या भने विद्यमान नै रहने गरी प्रस्ताव पेस भएको उनले जनाए । तर, विकल्पहरू भने आएको उनले बताएका छन् ।
‘पदाधिकारी संख्या विद्यमान नै रहने गरी मस्यौदा समितिको प्रस्ताव आएको छ । तर, त्यसमा केही फरक मत पनि आएका छन् । अब थप छलफल हुन्छ,’ नेता मन्सुरले भने ।

अध्ययनका लागि केन्द्रीय सदस्यहरूलाई दिइएको विधानको मस्यौदामाथि १३ मंसिरमा बस्ने केन्द्रीय समिति बैठकमा थप छलफल हुनेछ ।
यस्तै, पार्टी सदस्यताका विषयमा भने नेता प्रदीप पौडेलले एक सदस्यको मात्र व्यवस्था गर्न माग गरेका छन् । कांग्रेसको विधान मस्यौदामा नेपाली कांग्रेसको सदस्य क्रियाशील रहने व्यवस्था छ । तर, पौडेलले भने नेपाली कांग्रेसको सदस्य मात्र राख्न फरक मत राखेका हुन् । महामन्त्री खड्काले आइतबारको बैठकमा विधान बुझाउँदै संक्षिप्त व्याख्या गरेका थिए ।